सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, ४ प्रतिशत लाभांश पारित
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बैंकका अनुसार २०८३ असार मसान्तसम्म कायम १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ चुक्ता पुँजीका आधारमा ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरेको छ । यसअनुसार बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम तयार गरिएका एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ । सभाका अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकका गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।