‘मनी लाउन्डरिङ’ नियन्त्रणमा विफल भएपछि बैंक अफ अमेरिकालाई १ अर्ब २० करोड डलर जरिवाना
सम्झौताअन्तर्गत बैंक अफ अमेरिकाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था पालना नगरेको, विदेशी पत्राचार खाताको पर्याप्त निगरानी नगरेको र शङ्कास्पद कारोबारको प्रतिवेदन बुझाउन असफल भएको स्वीकार गरेको छ।
काठमाडौँ । अमेरिकाको प्रमुख वित्तीय संस्था बैंक अफ अमेरिकालाई शङ्कास्पद वित्तीय कारोबार पहिचान गर्न नसकेको र सम्पत्ति शुद्धीकरण नियन्त्रणमा पर्याप्त आन्तरिक प्रणाली कायम नगरेको अभियोगमा १ अर्ब २० करोड अमेरिकी डलर जरिवाना तोकिएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले मङ्गलबार कारबाहीबारे औपचारिक जानकारी गराएको बीबीसीले जनाएको छ । बैंकले ५ अर्ब डलरभन्दा बढीका शङ्कास्पद कारोबारबारे सरकारलाई समयमै प्रतिवेदन बुझाउन नसकेको पाइएको छ । तीमध्ये करिब १ अर्ब डलर बराबरका कारोबार राष्ट्रिय सुरक्षा र अवैध वित्तीय गतिविधिसँग सम्बन्धित अति संवेदनशील प्रकृतिका थिए ।
अमेरिकी अधिकारीहरूका अनुसार बैंकले चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालसँग सम्बन्धित तथा दक्षिण–पश्चिम सीमा क्षेत्रसँग जोडिएका व्यापारमार्फत हुने शङ्कास्पद वित्तीय कारोबारको प्रभावकारी अनुगमन गर्न सकेको थिएन । त्यस्ता कारोबार पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने दायित्व पूरा गर्न बैंक असफल भएको आरोप छ ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार बैंकले आफ्नै प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विकास गर्नुको सट्टा प्रहरी, अनुसन्धान निकाय र अन्य वित्तीय संस्थाबाट प्राप्त हुने सोधपुछमा बढी निर्भरता देखाएको थियो । यसले शङ्कास्पद कारोबार पहिचान गर्ने र समयमै प्रतिवेदन बुझाउने कानुनी दायित्व पूरा गर्न बैंक कमजोर रहेको देखाएको छ ।
सम्झौताअन्तर्गत बैंक अफ अमेरिकाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था पालना नगरेको, विदेशी पत्राचार खाताको पर्याप्त निगरानी नगरेको र शङ्कास्पद कारोबारको प्रतिवेदन बुझाउन असफल भएको स्वीकार गरेको छ । बैंकले ‘बैंक सेक्रेसी एक्ट’ को जानाजानी उल्लङ्घन गरेको पनि स्वीकार गरेको जनाइएको छ ।
जरिवानामा मुद्रा नियन्त्रकको कार्यालय (ओसीसी) र विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले तोकेका रकम समावेश छन् । ओसीसीले मात्रै ७५ करोड अमेरिकी डलर जरिवाना तोकेको छ, जुन उक्त निकायको इतिहासकै सबैभन्दा ठूलो जरिवाना भएको जनाइएको छ ।