माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा
उनले विगतको जनयुद्धको नेतृत्व गरेको पुस्ताले माओवादी आन्दोलनलाई अब अगाडी बढाउन नसक्ने बताए । माओवादी आन्दोलनका बाँकी एजेण्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाई छ ।
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्ताले नेतृत्व लिएर माओवादी आन्दोलनको पुनर्गठन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले विगतको जनयुद्धको नेतृत्व गरेको पुस्ताले माओवादी आन्दोलनलाई अब अगाडी बढाउन नसक्ने बताए । माओवादी आन्दोलनका बाँकी एजेण्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाई छ । उनले माओवादी आन्दोलनले संविधानमा समावेश गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरे । उनले समानुपातिक प्रतिनिधित्व र समानताको अधिकार कार्यान्वयनमा देखिएका विकृतिप्रति चिन्ता पनि व्यक्त गरे । माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्दै नयाँ चुनौतीको सामना गर्न नसक्दा प्रतिक्रान्तिको अवस्था सिर्जना भएको उनको भनाई छ ।
बन्दुकको लडाइँ मात्र क्रान्ति नभएको उल्लेख गर्दै उनले संविधान सभा, शान्ति प्रक्रिया र जनताका समस्या समाधान गर्ने संघर्ष पनि क्रान्तिकै निरन्तरताका रहेको उल्लेख गरे । हाल माओवादी आन्दोलनले जनताका समस्या समाधान गर्ने दिशामा आफूलाई अघि बढाउन नसकेको उनको भनाई छ । उनले अहिले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।
पछिल्लो राजनीतिक परिस्थितिले प्राप्त उपलब्धि नै संकटमा पर्न सक्ने खतरा उत्पन्न भएको उनको भनाई छ । प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ ढंगले राजनीतिक पहल आवश्यक रहेको उनले बताए । माओवादी आन्दोलनका एजेन्डा अझै सान्दर्भिक रहेको दाबी गर्दै उनले नयाँ पुस्ताले आन्दोलनको पुनर्गठन र पुनर्जागरण गर्न अघि बढेमा सहयोग गर्न तयार रहेको बताए ।
उनले पुस्तान्तरणलाई उमेरसँग मात्र जोड्न नहुने स्पष्ट पार्दै नेतृत्वको क्षमता र योग्यतालाई मुख्य आधार बनाउनुपर्ने बताए । राजनीतिक सुझबुझ भएको नयाँ पुस्ताले आन्दोलनको नेतृत्व लिएर बाँकी रहेका राजनीतिक एजेण्डालाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।