सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन
उनले पार्टीको अगामी महाधिवेशनमार्फत पार्टीलाई पुनःजीवन दिनेगरी संगठनको पुनःगठन गरेर जानुपर्ने समेत बताए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । मुलुकका अन्य राजनीतिक दलहरु असफल भइसकेको उनको भनाइ छ ।
उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको पनि बताए । उनले पार्टीको अगामी महाधिवेशनमार्फत पार्टीलाई पुनःजीवन दिनेगरी संगठनको पुनःगठन गरेर जानुपर्ने समेत बताए । मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै पार्टीलाई देशको नेतृत्व गर्नसक्ने शक्तिको रुपमा तयार पार्न पुनर्गठनको आवश्यकता रहेको उनको भनाइ छ ।
त्यसका लागि महाधिवेशनको तयारीमा जुट्न उनले नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । उनले पार्टी संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने भन्दै सबैका लागि ढोका खुला गर्नुपर्ने गर्नुपर्ने समेत बताए । उनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको एजेण्डा स्थापित गर्न संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताए ।