पाकिस्तानको खैबर पख्तुनख्वामा संकटकाल र गभर्नर शासन लागू

प्रान्तको बिग्रँदो सुरक्षा अवस्था र बढ्दो आतंकवादी घटनाहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्री शहबाज सरिफले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा २३२ र २३४ प्रयोग गर्दै यस्तो कदम चालेका हुन् ।

एजेन्सी । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुलुकको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा संकटकाल र गभर्नर शासन लागू गर्न आइतबार स्वीकृति दिनुभएको छ ।

प्रान्तको बिग्रँदो सुरक्षा अवस्था र बढ्दो आतंकवादी घटनाहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्री शहबाज सरिफले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा २३२ र २३४ प्रयोग गर्दै यस्तो कदम चालेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संघीय मन्त्रिपरिषद्को सिफारिस, सुरक्षा निकायका प्रतिवेदन तथा सरोकारवाला पक्षहरूसँगको वार्ता असफल भएपछि सरकार यो कठोर निर्णयमा पुगेको हो ।

संघीय सरकारको यो कदमले प्रान्तमा कानून र व्यवस्था कायम राख्नका लागि संघीय नियन्त्रणलाई बलियो बनाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रान्तको सुरक्षा व्यवस्था निकै कमजोर भएको भन्दै गभर्नर शासन लगाउने निर्णय गरेको थियो ।

खैबर पख्तुनख्वामा पछिल्ला केही महिनायता विद्रोही हिंसा र आतंकवादी गतिविधिमा तिब्र वृद्धि भएको छ पाकिस्तानको संविधानको धारा २३२ ले विशिष्ट परिस्थितिमा संकटकाल घोषणा गर्ने अधिकार दिएको छ भने धारा २३४ ले प्रदेश सरकारले संवैधानिक दायित्व पूरा गर्न नसकेको अवस्थामा संघीय सरकारलाई प्रान्तीय अधिकार आफ्नो हातमा लिन अनुमति दिन्छ ।

यो निर्णयसँगै प्रान्तमा सुरक्षा बलले गुप्तचरका आधारमा चलाइने कारबाहीलाई थप तिब्रता दिने अनुमान गरिएको छ । विश्लेषकहरूकाअनुसार यो निर्णयले संघीय सरकार र प्रान्तीय सरकारबीचको तनावलाई थप चर्काउन सक्ने देखिन्छ । यद्यपि, सरकारले शान्ति र सुरक्षाको बहाली नै प्राथमिक उद्देश्य रहेको दाबी गरेको छ ।