करदाता प्रोत्साहन कार्यक्रम: बिल लिने मात्रै होइन, दिनेलाई पनि पुरस्कार दिने सरकारको तयारी

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा अर्थमन्त्री वाग्लेले बिल लिने उपभोक्तालाई मात्रै नभई बिल जारी गर्ने विक्रेतालाई पनि प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्दै वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद पुरस्कार दिने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिल जारी गर्ने व्यवसायीलाई समेत प्रोत्साहित गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा अर्थमन्त्री वाग्लेले बिल लिने उपभोक्तालाई मात्रै नभई बिल जारी गर्ने विक्रेतालाई पनि प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । त्यसका लागि हालको कार्यविधि संशोधन गरी पुरस्कारको रकम र वितरण प्रक्रियासहितको प्रस्ताव पेस गर्न उनले विभागलाई निर्देशन दिएका छन् ।

सरकारले चालु आर्थिक वर्षको साउन १ गतेदेखि बिल लिने उपभोक्तालाई नगद पुरस्कार दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट बिल लिने बानीको विकास हुनुका साथै राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव परेको सरकारी बुझाइ छ । तर, उपभोक्तालाई बिल लिन प्रोत्साहित गरिए पनि केही व्यवसायीले बिल जारी गर्न आनाकानी गरेको गुनासो आएपछि विक्रेतालाई समेत पुरस्कार दिने तयारी गरिएको हो ।

अर्थमन्त्री वाग्लेले बिल लिनुपर्ने चेतना बढेसँगै बिल दिनुपर्ने संस्कार पनि विकास गर्न आवश्यक रहेको बताएका छन् । विक्रेतालाई प्रोत्साहन गर्दा बिल जारी गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने उनको भनाइ छ ।

हालको व्यवस्थाअनुसार बिल नम्बरका आधारमा प्रत्येक १५ दिनमा उपभोक्तामध्ये एक जनालाई एक लाख ३४ हजार रुपैयाँ र बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार घोषणा गरिन्छ । आकस्मिक लाभकर कट्टीपछि दैनिक पुरस्कार विजेताले एक लाख रुपैयाँ र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्छन् ।

साउन १ देखि असोज १५ गतेसम्म पाँच चरणमा पुरस्कार घोषणा भइसकेको छ । यस अवधिमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर पुरस्कारबापत जनही सात लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् ।

विभागले समयमै कार्यविधि संशोधन गरेमा असोज १६ देखि मसान्तसम्मको दोस्रो पाक्षिक पुरस्कार घोषणामा विक्रेतालाई समेत समेट्न सकिनेछ । यद्यपि, विक्रेताका लागि छुट्याइने पुरस्कार रकम कति हुने भन्ने टुङ्गो लागिसकेको छैन । उपभोक्तालाई दिइने पुरस्कारको तुलनामा विक्रेताको पुरस्कार रकम कम हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन उपभोक्ताले सामान खरिद गर्दा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ । अनलाइन माध्यमबाट भुक्तानी गरी बिल लिने उपभोक्ता स्वतः पुरस्कारका लागि योग्य हुने व्यवस्था छ । नगदमा भुक्तानी गरी बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता पुरस्कार पोर्टलमा उपलब्ध लिंकमार्फत बिल अपलोड गरेर सहभागिता जनाउन सक्छन् ।