दसैंमा नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् कम्पनीहरूले ल्याएका आकर्षक अफर
कम्पनीहरूले नगद छुटसँगै बीमा, कर, चार्जर, एक्सचेन्ज र सर्भिसिङजस्ता सुविधा जोडेर गाडी खरिदलाई ग्राहकका लागि थप सहज बनाउने प्रयास गरेका छन् ।
काठमाडौँ । दसैं नेपाली अटोमोबाइल बजारका लागि वर्षकै महत्वपूर्ण बिक्री सिजनमध्ये एक हो । चाडपर्वमा नयाँ सवारीसाधन किन्ने ग्राहकको आकर्षण र क्षमता बढ्ने भएकाले अटोमोबाइल कम्पनीहरूले पनि यही समयलाई बिक्री बढाउने मुख्य अवसरका रूपमा लिने गरेका छन् ।
यस वर्ष पनि दसैं, तिहार तथा छठलाई लक्षित गर्दै विभिन्न अटोमोबाइल कम्पनीले ग्राहक आकर्षित गर्न छुट तथा विशेष सुविधा सार्वजनिक गरेका छन् । कम्पनीहरूले नगद छुट, मूल्यमा सहुलियत, निःशुल्क बीमा, सडक दस्तुर, एक्सचेन्ज बोनस, सहज फाइनान्सिङ, घरायसी चार्जर तथा सर्भिसिङलगायतका सुविधा समेटेर चाडपर्व योजना ल्याएका हुन् ।
एक्सपेङ जी६ मा १२ लाखसम्मको सुविधा
नेपालमा एक्सपेङ विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको सीजी मोटर्सले जी६ मोडलमा ‘द सेलिब्रेसन अपग्रेड’ योजना ल्याएको छ । योजनाअन्तर्गत जी६ खरिद गर्ने ग्राहकले अधिकतम १२ लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले ६.६ किलोवाट क्षमताको घरायसी चार्जर, एक वर्षको सवारी बीमा र एक आर्थिक वर्षको सडक दस्तुर निःशुल्क पाउनेछन् । साथै, ग्राहकले घरबाटै जी६ को परीक्षण गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
होण्डा खरिदमा १० लाखसम्म नगद छुट
नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘फेस्टिभ अफर होण्डाको सफर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ होण्डा कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । यससँगै एक आर्थिक वर्षको सडक कर र पूर्ण बीमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । गाडी खरिदपछि पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षको सडक सहायता सुविधा पनि दिइनेछ । पुरानो गाडी साटेर नयाँ होण्डा खरिद गर्ने ग्राहकका लागि अन-द-स्पट एक्सचेन्ज र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । त्यस्तै, स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा सहज फाइनान्सिङ सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
आयोनका विद्युतीय गाडीमा ९ लाखसम्मको लाभ
दसैंलाई लक्षित गर्दै सीजी मोटर्सले जीएसी आयोनका विद्युतीय गाडीमा ‘दसैंको ९ लाख उपहार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत आयोनका विभिन्न मोडल खरिद गर्दा ग्राहकले नौ लाख रुपैयाँसम्मको छुट तथा सुविधा पाउने कम्पनीले जनाएको छ । योजनामा नगद छुटका साथै एक्सचेन्ज बोनसको सुविधा समावेश गरिएको छ । ग्राहकले ६.६ किलोवाट क्षमताको घरायसी चार्जर पनि निःशुल्क पाउनेछन् । यसबाहेक सवारी कर, बीमा तथा अन्य आवश्यक सामग्रीमा समेत सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
एमजीमा तीन लाखसम्म बचत
एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्सले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ योजना ल्याएको छ । छठ पर्वसम्म लागू हुने योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका गाडी खरिद गर्दा ग्राहकले तीन लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् । कम्पनीका अनुसार योजनामा निःशुल्क अटो प्लस इन्स्योरेन्स, सडक दस्तुर, इजी एक्सचेन्ज र इजी फाइनान्सको सुविधा समावेश गरिएको छ । योजनामा एमजीका विभिन्न विद्युतीय तथा हाइब्रिड मोडल समेटिएका छन् । हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी एचएस हाइब्रिड पनि योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार उपलब्ध मोडल छनोट गर्न सक्नेछन् ।
जीडब्लूएममा मोडलअनुसार तीन लाखसम्मको फाइदा
जीडब्लूएम नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘जीडब्लूएम फेस्टिभ अफर-गो विथ मोर’ योजना ल्याएको छ । योजनाअन्तर्गत ओरा-५ ईभी खरिद गर्दा दुई लाख रुपैयाँसम्म र हाभाल जोलियन म्याक्स ईभी खरिद गर्दा तीन लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनामा कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, सात किलोवाट क्षमताको चार्जर तथा एसेसरिज निःशुल्क उपलब्ध गराइनेछ । साथै, नगद छुट, आकर्षक एक्सचेन्ज मूल्य तथा सहज फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछन् ।
हुन्डाईमा छुटसँगै स्क्र्याच कार्डको अवसर
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले तीन लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यस्तै, स्क्र्याच कार्डमार्फत थप पाँच लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसर पनि दिइएको छ । गाडी खरिद गर्दा एक वर्षको अटो प्लस बीमा र एक वर्षको सडक दस्तुर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध छ ।
ओमोडा र जेकोमा मूल्य नै घटाइयो
दसैंलाई लक्षित गर्दै एसपीजी अटोमोबाइलले ओमोडा र जेको ब्रान्डका विद्युतीय गाडीमा विशेष मूल्य सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ओमोडा ई५, ई५ प्रो तथा जेको जे५ र जे५ प्रोमा एक लाखदेखि तीन लाख रुपैयाँसम्म मूल्य छुट दिइएको छ । कम्पनीका अनुसार ओमोडा ई५ प्रोको नियमित मूल्य ५१ लाख ९९ हजार रुपैयाँबाट घटाएर ५० लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । ओमोडा ई५ को मूल्य ५६ लाख ९९ हजार रुपैयाँबाट घटाएर ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
जेको जे५ प्रोको नियमित मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेकामा दसैं विशेष मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यसमा ग्राहकले तीन लाख रुपैयाँ छुट पाउनेछन् । जेको जे५ को मूल्य भने ५६ लाख ९९ हजार रुपैयाँबाट घटाएर ५५ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । मूल्य छुटबाहेक ग्राहकले सात किलोवाट क्षमताको घरायसी चार्जर, एक वर्षको सवारी बीमा र चालु आर्थिक वर्षको सडक दस्तुर निःशुल्क पाउनेछन् । कम्पनीले ११ वर्षसम्मको थप वारेन्टी सुविधा पनि उपलब्ध गराउने जनाएको छ । योजनामार्फत छनोट हुने दुई जना भाग्यमानी ग्राहकलाई चीन भ्रमणको अवसरसमेत दिइने कम्पनीले जनाएको छ ।
दसैंको मुख्य बिक्री सिजनलाई लक्षित गर्दै सार्वजनिक भएका यी योजनाले अटोमोबाइल बजारमा ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा बढाएको देखिन्छ । कम्पनीहरूले नगद छुटसँगै बीमा, कर, चार्जर, एक्सचेन्ज र सर्भिसिङजस्ता सुविधा जोडेर गाडी खरिदलाई ग्राहकका लागि थप सहज बनाउने प्रयास गरेका छन् ।