लाओस सरकारको प्राथमिकताः २०२६ को अन्तिम तीन महिनामा आर्थिक स्थिरता र पूर्वाधार विकासमा जोड
प्रतिवेदनमा सन् २०२६ को राष्ट्रिय सामाजिक-आर्थिक विकास योजना तथा राज्य बजेट योजनाको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको छ ।
काठमाडौं । लाओस सरकारले सन् २०२६ को अन्तिम तीन महिनालाई आर्थिक वृद्धि र वित्तीय स्थायित्वको वर्षका रूपमा परिभाषित गर्दै सातवटा मुख्य प्राथमिकता निर्धारण गरेको छ । राजधानी भियनतियनमा आयोजित लाओसको १० औँ व्यवस्थापिकाको दोस्रो नियमित अधिवेशनमा प्रधानमन्त्री सलेमक्से कोम्मासिथले राष्ट्रिय सामाजिक-आर्थिक विकास योजनाका महत्वपूर्ण बुँदाहरू प्रश्तुत गर्दै सो घोषणा गरेका हुन् । प्रधानमन्त्री कोम्मासिथले संसदसमक्ष प्रश्तुत गरेको प्रतिवेदनमा खाद्य उत्पादन, पूर्वाधार पुनर्निर्माण, खनिज व्यवस्थापन, ठूला लगानी परियोजना, पर्यटन प्रवद्र्धन, राजश्व संकलन र मौद्रिक स्थायित्वलाई सरकारको प्रमुख कार्यसूचीमा राखिएको जानकारी गराए । उनले यी क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्दा देशको समग्र अर्थतन्त्र थप चलायमान हुने विश्वास व्यक्त गरे ।
प्रतिवेदनमा सन् २०२६ को राष्ट्रिय सामाजिक-आर्थिक विकास योजना तथा राज्य बजेट योजनाको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको छ । साथै, सन् २०२७ का लागि प्रश्तावित विकास प्राथमिकताहरूका सम्बन्धमा पनि संसदमा छलफल शुरु भएको छ । सरकारले राष्ट्रिय सभाबाट पारित प्रश्तावहरू र सरकारका पछिल्ला निर्देशिकाहरूको प्रभावकारी कार्यान्वयनमा प्रतिवद्धता जनाएको छ ।
सोमवारदेखि शुरु भएको यो अधिवेशनले देशका जल्दाबल्दा राष्ट्रिय मुद्दाहरूमा गहन छलफल गरी महत्वपूर्ण निर्णयहरू लिने तयारी गरेको छ । लाओसको राष्ट्रिय समाचार एजेन्सीकाअनुसार यो अधिवेशन आगामी अक्टोबर २१ सम्म चल्नेछ । विधायिकाले विशेष गरी आर्थिक संकट निवारण र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारका पछिल्ला कदमहरूको समीक्षा गरिरहेको छ ।