बैंकिङ कसुर मुद्दामा प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई थुनामा पठाउन आदेश
नेपाल राष्ट्र बैंकको विज्ञ टोलीको प्रतिवेदन तथा प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले शेरचनविरुद्ध बैंकिङ कसुरका चारवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध दायर बैंकिङ कसुरसम्बन्धी चारवटा मुद्दामध्ये तीनवटामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले एसियन भिलेज रिसोर्टका नाममा धितो सुरक्षणबिनै ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको मुद्दासहित तीनवटा मुद्दामा तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको हो ।
न्यायाधीशद्वय गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको वाणिज्य इजलासले २०८३ असोज २० गते यस्तो आदेश दिएको हो । नेपाल राष्ट्र बैंकको विज्ञ टोलीको प्रतिवेदन तथा प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले शेरचनविरुद्ध बैंकिङ कसुरका चारवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।
पहिलो मुद्दामा एसियन भिलेज रिसोर्ट प्रालिका नाममा दृष्टिबन्धक रोक्का अर्थात् पर्याप्त धितो सुरक्षण नै नगरी ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप छ । उक्त मुद्दामा अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा शेरचनलाई निर्दोष मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
त्यस्तै, सञ्चालक समितिको पूर्वस्वीकृतिबिना गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण दिएको तथा रेमिट्यान्सबापत प्राप्त ८ करोड ९३ लाख रुपैयाँभन्दा बढी ब्याज बैंकमा दाखिला नगरी बैंकलाई नोक्सानी पुर्याएको आरोपमा २० करोड १७ लाख रुपैयाँ बिगो कायम गरिएको छ । यस मुद्दामा पनि अदालतले शेरचनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
तेस्रो मुद्दामा राम जानकी हेल्थ फाउन्डेसनसहित अर्को एक संस्थालाई सञ्चालक समितिको निर्णयअघि नै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई ६ करोड १७ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत गरेको, पर्याप्त धितो सुरक्षण नगरेको तथा बैंकको पार्किङ एकाउन्ट प्रयोग गरी ऋण रकमान्तर गरेको आरोप लगाइएको छ । यस मुद्दामा पनि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरबाट उन्मुक्ति दिन नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
चौथो मुद्दामा भने अदालतले शेरचनलाई धरौटीमा छाड्ने बाटो खुला गरेको छ । प्रभु मनी ट्रान्सफर प्रालिले बैंकलाई तिर्नुपर्ने ४ करोड २६ लाख ५१ हजार रुपैयाँभन्दा बढी ब्याज रकम जानीजानी भुक्तानी नलिन लगाई बैंकलाई हानि–नोक्सानी पुर्याएको आरोपमा अदालतले १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । उक्त रकम नगद, सो बराबरको जेथा वा बैंक जमानत बुझाएमा उनी यस मुद्दामा तारेखमा रहनेछन् ।
चारवटै मुद्दामा अन्तिम फैसला भने भइसकेको छैन । तर तीनवटा मुद्दामा थुनामा राख्ने आदेश भएपछि पूर्वसीईओ शेरचनले कारागारमै रहेर कानुनी प्रक्रियाको सामना गर्नुपर्ने भएको छ ।