राजनीतिक परिवर्तन भएपनि आर्थिक-सामाजिक रूपान्तरण हुन सकेनः पाण्डे

उनले जेन-जी आन्दोलनको एक वर्ष बितिसक्दा पनि समाजमा अपेक्षित आशा पलाउन नसकेको भन्दै भ्रष्टाचार अन्त्य र स्वदेशमै रोजगारीको मागसहित भएको आन्दोलनको उद्देश्यअनुसार सुधार हुन नसकेको बताए ।

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पटकपटक राजनीतिक परिवर्तन भएपनि अपेक्षित आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको बताएका छन्। 

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै पाण्डेले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनले आर्थिक रूपान्तरणको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन् ।

उनले जेन-जी आन्दोलनको एक वर्ष बितिसक्दा पनि समाजमा अपेक्षित आशा पलाउन नसकेको भन्दै भ्रष्टाचार अन्त्य र स्वदेशमै रोजगारीको मागसहित भएको आन्दोलनको उद्देश्यअनुसार सुधार हुन नसकेको बताए । उनले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नुको साटो बढिरहेको तथ्यांक प्रस्तुत गरे । गत वर्षको साउनमा ६८ हजार जनाले विदेश जान अनुमति लिएकोमा यस वर्ष सोही अवधिमा ७० हजारले अनुमति लिएको उनले बताए ।

उनले नागरिकका मुद्दालाई प्राथमिकतामा राख्दै मूलधारमा पुर्‍याउन ‘नागरिक आवाज अभियान’लाई साझा मञ्चका रूपमा अघि बढाउने बताए । अभियान राजनीतिक विकल्पका रूपमा अघि नबढाइएको स्पष्ट पार्दै उनले सरकारका कामकारबाहीको निरन्तर निगरानी गर्ने बताए ।

पाण्डेले भने, ‘२००७ सालदेखि आजसम्म ७६ वर्षको अन्तरालमा अनेक पटक राजनीतिक परिवर्तन भए तर हाम्रो मुलुकले खोजेको राजनीतिकसँगसँगै आर्थिक रूपान्तरण भएन । सरकार जिम्मेवार, जवाफदेही बन्यो र सही काम गर्‍यो भने हामी समर्थन पनि गर्छौँ । त्यो नगर्दाखेरी हामी खबरदारी पनि गर्छौँ ।’

पाण्डेले अभियानलाई समयक्रमसँगै थप सुधार गर्दै नागरिकका सुझावका आधारमा अघि बढाइने बताए ।