मूल्यवृद्धि नियन्त्रण गर्न बजारमा खुला प्रतिस्पर्धा आवश्यक: सभापति अन्सारी

बैठकमा सभापति अन्सारीले बजार अर्थतन्त्रमा वस्तुको मूल्य माग र आपूर्तिको प्राकृतिक सन्तुलनबाटै निर्धारण हुनुपर्ने अर्थशास्त्रीय मान्यता स्मरण गराए ।

काठमाडौं । बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रणभन्दा पनि व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट (ब्यारियर्स) हटाएर आपूर्ति बढाउनुपर्नेमा संसदीय समितिले जोड दिएको छ । सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खुला प्रतिष्पर्धा र सहज आपूर्ति व्यवस्थाले मात्रै आम उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सकिने बताएका हुन् । 

बैठकमा सभापति अन्सारीले बजार अर्थतन्त्रमा वस्तुको मूल्य माग र आपूर्तिको प्राकृतिक सन्तुलनबाटै निर्धारण हुनुपर्ने अर्थशास्त्रीय मान्यता स्मरण गराए । राज्यले बजारलाई जबर्जस्ती मूल्य नियन्त्रण गर्न खोजे आपूर्ति घटेर कालोबजारी र वस्तु अभाव चुलिने उनको विश्लेषण छ ।

नेपालमा उद्योग व्यवसाय सञ्चालन तथा आयात प्रक्रियामा धेरै कानूनी र प्रशासनिक अवरोध (ब्यारियर्स टु एन्ट्री) कायम रहेको उल्लेख गर्दै उनले नीति निर्माताहरूले वर्षौँदेखि सिर्जना गरेका यस्ता झन्झट तत्काल हटाउनुपर्ने आवश्यकता रहेको बताए । सिमित व्यवसायी वा उद्योगीहरूको एकाधिकार (सिन्डिकेट) का कारण दूरदराजका नागरिक महँगो मूल्य तिर्न बाध्य हुनु अन्यायपूर्ण भएको उनको भनाइ छ ।

उपभोक्ता ठगिनबाट जोगाउन जहाँबाट सस्तो र गुणस्तरीय वस्तु पाइन्छ, त्यहीँबाट आयात खुला गरिनुपर्ने सभापति अनरीले प्रस्ट पारे । केही समयअघि दशैँका बेला चिनीको अभाव हुने पूर्वआँकलन गरेरै समितिले सरकारलाई घच्घच्याएपछि भारतबाट २५ हजार मेट्रिक टन चिनी कर छुटमा आयात गरिएको र त्यसैले गर्दा सम्भावित मूल्यवृद्धि नियन्त्रण भएको तथ्यसमेत उनले प्रस्तुत गरे ।

समितिले अबका दिनमा उद्योग वाणिज्यसम्बन्धी नीतिगत बहसलाई काठमाडौंका सिमित सम्भ्रान्त वर्गमा मात्र केन्द्रित नगरी संघीयताको मर्मअनुरूप विकेन्द्रिकृत र सर्वसाधारणमुखी बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।