नेपालमा आजदेखि सस्तो इन्टरनेट प्याकेज बन्द हुँदै

इस्पानले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्ला वर्षहरूमा इन्टरनेट सेवा सञ्चालनको लागत निरन्तर बढ्दै गएकाले न्यून दरका प्याकेजलाई निरन्तरता दिन कठिन भएको जनाएको छ ।

काठमाडौं । नेपालमा अब न्यून मूल्य तथा कम गतिको सस्तो इन्टरनेट प्याकेज उपलब्ध नहुने भएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था ‘इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल’ (इस्पान) ले असोज १९ गते अर्थात् आज सोमबारदेखि लागू हुने गरी सुपथ मूल्य तथा कम स्पिडका इन्टरनेट प्याकेजको बिक्री तथा वितरण बन्द गर्ने निर्णय गरेको हो ।

इस्पानले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्ला वर्षहरूमा इन्टरनेट सेवा सञ्चालनको लागत निरन्तर बढ्दै गएकाले न्यून दरका प्याकेजलाई निरन्तरता दिन कठिन भएको जनाएको छ । बढ्दो सञ्चालन खर्च, उपकरणको मूल्यवृद्धि तथा विश्वव्यापी आर्थिक परिस्थितिका कारण सस्तो प्याकेज बन्द गर्नुपरेको संघको भनाइ छ । इस्पान अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तिअनुसार मध्यपूर्वमा जारी तनावका कारण बढेको इन्धनको मूल्य, अन्तर्राष्ट्रिय बजारमा फाइबरको मूल्यवृद्धि तथा बढ्दो मुद्रास्फीतिले इन्टरनेट सेवा प्रदायकको लागत बढाएको छ ।

यस्तै, पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक्स तथा चिपसेटको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको इस्पानले जनाएको छ । इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा प्रविधिको लागत बढ्दा सेवा प्रदायकलाई दैनिक सञ्चालन खर्च धान्नसमेत कठिन भएको संघको भनाइ छ ।

यही कारण न्यून मूल्य तथा कम गतिको इन्टरनेट प्याकेजलाई निरन्तरता दिन नसकिएको इस्पानले स्पष्ट पारेको छ । सस्ता प्याकेज बन्द हुँदा ग्राहकलाई पर्न जाने असुविधाप्रति संघले क्षमायाचना समेत गरेको छ ।