यति एयरलाइन्सको कारोबार ५ अर्ब ४७ करोड, २१ अर्बको आईपीओ ल्याउने तयारी

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ ।

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले गत आर्थिक वर्षमा ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्ला वर्षहरूको तुलनामा निरन्तर बढ्दै गएको देखिए पनि इन्धनको मूल्यवृद्धिका कारण नाफामा भने उल्लेख्य दबाब परेको छ ।

कम्पनीले सन् २०२५ मा ५ अर्ब ३८ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो। त्यसअघि सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख र सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२४ मा कम्पनीको कारोबार करिब २५ प्रतिशतले बढेको थियो भने गत आर्थिक वर्षमा पनि करिब २ प्रतिशतको वृद्धि भएको छ। कम्पनीका अनुसार सन् २०२५ मा फ्लीट विस्तार गरिएपछि कारोबार बढाउन सहयोग पुगेको हो ।

यद्यपि, सञ्चालन लागत बढ्दा कम्पनीको सञ्चालन मार्जिनमा कमी आएको छ । सन् २०२५ मा ३३ प्रतिशत रहेको सञ्चालन मार्जिन गत आर्थिक वर्षमा इन्धनको मूल्य बढेका कारण २६ प्रतिशतमा झरेको छ ।

नाफा ६४ करोडबाट घटेर १८ करोड

कारोबार बढे पनि कम्पनीको खुद नाफामा भने ठूलो गिरावट आएको छ । सन् २०२५ मा १२ प्रतिशत खुद नाफा मार्जिन कायम गरेको कम्पनीले गत आर्थिक वर्षमा ३ प्रतिशत मात्रै कायम गरेको छ ।

यससँगै कम्पनीको खुद नाफा ६४ करोड ८० लाख रुपैयाँबाट घटेर १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।

१८ वटा रुटमा उडान

यति एयरलाइन्सले हाल देशका विभिन्न १८ वटा आन्तरिक रुटमा सेवा सञ्चालन गरिरहेको छ। तीमध्ये चारवटा प्रमुख रुटले कम्पनीको कारोबारमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

कम्पनीका अनुसार काठमाडौं–पोखरा र काठमाडौं–विराटनगर दुवैतर्फका उडानसहित चार प्रमुख रुटको कारोबार हिस्सा क्रमशः ५१ प्रतिशत र ५२ प्रतिशत रहेको छ। सन् २०२५ मा यी रुटको हिस्सा ४६ प्रतिशत र ४७ प्रतिशत थियो ।

थप इक्विटीपछि घट्यो ऋणभार

कम्पनीले निजी प्लेसमेन्टमार्फत प्रिमियमसहित २२ अर्ब ७० करोड रुपैयाँ इक्विटी लगानी प्राप्त गरेको जनाएको छ । उक्त रकम ऋणको भार घटाउन तथा छनोट गरिएका विमानको इन्जिन ओभरहोलमा प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

थप इक्विटी लगानीपछि कम्पनीको वित्तीय सूचकमा समेत सुधार देखिएको छ । कम्पनीको गियरिङ अनुपात ४.४५ गुणाबाट सन् २०२५ मा ३.१० गुणा हुँदै गत आवमा १.४९ गुणामा झरेको छ ।

त्यस्तै, ऋण–इक्विटी अनुपात पनि ४.१७ गुणाबाट २.९६ गुणा हुँदै अहिले १.४७ गुणामा आएको छ । कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात ४.६० गुणाबाट घटेर १.६० गुणामा सीमित भएको छ ।

ब्याज तिर्ने क्षमतामा समेत सुधार भएको छ। कम्पनीको ब्याज कवरेज अनुपात १.७१ गुणाबाट सन् २०२५ मा २.९८ गुणा हुँदै गत आर्थिक वर्षमा ३.५४ गुणा पुगेको छ । ऋण सेवा कवरेज अनुपात पनि सन् २०२५ को १.१३ गुणाबाट बढेर १.८८ गुणा पुगेको छ ।

२१ अर्बको आईपीओ ल्याउने तयारी

यति एयरलाइन्सले आगामी दिनमा करिब २१ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने योजना बनाएको छ । प्रस्तावित आईपीओबाट रकम जुटेमा कम्पनीको ऋण तथा गियरिङ संरचनामा थप सुधार आउने अपेक्षा गरिएको छ ।

सन् २००२ मा स्थापना भएको यति एयरलाइन्स नेपालको पुरानो आन्तरिक वायुसेवा कम्पनीमध्ये एक हो । आन्तरिक हवाई सेवामा कम्पनीको बजार हिस्सा करिब २२ देखि २३ प्रतिशत रहेको दाबी गरिएको छ ।

कम्पनीले हाल ७ वटा एटीआर–७२ विमानबाट सेवा दिइरहेको छ। तीमध्ये ६ वटा विमान कम्पनीकै स्वामित्वमा छन् भने एउटा लिजमा लिएर सञ्चालन गरिएको छ ।

कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको २९.८५ प्रतिशत, लाक्पासोनम शेर्पाको १५.९६ प्रतिशत र चन्दा शेर्पाको १२.७९ प्रतिशत स्वामित्व रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ ।