होर्मुज जलडमरूमध्यमा इरानद्वारा ७ तेल ट्यांकरलाई निशाना बनाएको दाबी

फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ ।

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ ।

फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको बताउँदै आएका बेला भएको हो ।

फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टलाई उद्धृत गर्दै शुक्रबार जलडमरूमध्यमा दुई तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ । तीमध्ये एउटा जलमार्गको प्रवेश क्षेत्रमा र अर्को बाहिरिने क्रममा रहेको बताइएको छ ।

मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका अल फुन्टास र काजिमाह–३ तथा संयुक्त अरब इमिरेट्सका सिनबाड, मेर्सिन प्रोस्पेरिटी र अल रुवाइस नामका जहाजहरू पनि प्रभावित भएका छन् ।

सिन्ह्वाका अनुसार इरानले फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा आफ्नो निगरानी र नियन्त्रण कडा बनाएको छ । इजरायल र अमेरिकासँग सम्बन्धित वा ती देशसँग जोडिएका जहाजलाई सुरक्षित मार्ग दिन रोक लगाइएको इरानको भनाइ छ । यो कदम इरानी भूभागमा भएको संयुक्त हमलापछि चालिएको बताइएको छ ।