ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह
उनका अनुसार मन्त्रालयले हाल एलपीजीको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका समस्या पहिचान गरी समाधानका लागि काम भइरहेको छ ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शाहले यस्तो दाबी गरेका हुन् । उनका अनुसार मन्त्रालयले हाल एलपीजीको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका समस्या पहिचान गरी समाधानका लागि काम भइरहेको छ ।
उनले ग्यासको आपूर्ति सहज बनाउन सरकारले मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षा लगायतका पक्षलाई विश्लेषण गरेको पनि बताए । उनले ग्यास अभावको समस्या समाधानको लागि सरकारले तत्कालीक, मध्यम दीर्घकालीन गरी उर्जा सुरक्षा योजना निर्माण गरिरहेको बताए । तत्काल नागरिकलाई ग्यास उपलब्ध गराउने कुरामा सरकार गम्भीर रहेको मन्त्री शाहको भनाइ छ । उनले ग्यासको भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपत्कालीन मौज्दातको व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेको समेत जानकारी दिए ।
उनले आफूले पदभार ग्रहण गरेलगत्तै ग्यासको आपूर्ति समस्याको प्राविधिक विश्लेषण गर्दै ‘फिसबोन डायाग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गरेको उल्लेख गरे । आपूर्ति प्रणालीको महत्वपूर्ण अवरोधका रूपमा कृष्णभीर पहिरो पहिचान भएपछि सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन मन्त्री शाहको जिकिर छ ।
उनले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणको विषय समेत सरकारको प्राथमिकतामा रहेको बताए । बजार अनुगमनलाई व्यवसायीलाई आतङ्कित बनाउने माध्यम नभई स्वच्छ प्रतिष्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाइने उनको भनाइ छ । उनले चाडबाडको समयमा बजार अनुगमनमा कडाई गरिएको भन्दै कुनैपनि व्यवसायीले उपभोक्ता हितविपरीत काम गरे कानूनअनुसार कारबाही हुने स्पष्ट पारे ।