कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँः मन्त्री लम्साल
मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन संशोधनका क्रममा सरोकारवाला निकायबाट प्राप्त सुझावहरुको सरकारले अध्ययन गरेपनि त्यसले नीतिगत आवश्यकता पूरा गर्न नसकेको कारण समेट्न नसकिएको बताए ।
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
उनले कानूनअनुसार नै राज्यको प्रणाली चल्नुका साथै परिणाम समेत देखिने भन्दै सरकार नागरिकमैत्री कानून निर्माणमा केन्द्रित रहेको बताएका हुन् । ऐन देशको ऐना भएकोले जस्तो ऐन निर्माण गर्न सकियो त्यस्तै राष्ट्र बन्ने मन्त्री लम्सालको भनाइ छ ।
मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन संशोधनका क्रममा सरोकारवाला निकायबाट प्राप्त सुझावहरुको सरकारले अध्ययन गरेपनि त्यसले नीतिगत आवश्यकता पूरा गर्न नसकेको कारण समेट्न नसकिएको बताए ।
उनले मुलुकको पूर्वाधार निर्माणको कामलाई थप गतिशील र प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक सुधारको यस गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । उनले विचौलियाले लाभ लिनेगरी कानून निर्माण नगर्ने कुरामा सरकार स्पष्ट रहेको पनि बताए । उनले कानून निर्माणको क्रममा ‘गर्न सक्नेछ’जस्ता शब्दावली नराखिने स्पष्ट पारे ।