सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्योः नेता शाही
नेता शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उठाउँदै कानूनी राज्यको उपहास भएको जिकिर गरे ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको बताएका हुन् । नेता शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उठाउँदै कानूनी राज्यको उपहास भएको जिकिर गरे ।
उनले भ्रष्टाचार र अपराधको अनुसन्धानमा सरकार छनोटपूर्ण बनेको भन्दै आक्रोश व्यक्त गरे । शाहीले सरकारलाई सुशासनको मार्गमा अघि बढ्न सुझाव दिँदै यदि सरकारले भ्रष्टाचार विरुद्ध वास्तविक कदम चाल्ने हो भने आफ्नो दलले साथ दिने प्रतिवद्धता जनाए । यद्यपि, राज्यसत्ताको दुरुपयोग जारी रहे जनता सडकमा आउन बाध्य हुने चेतावनी उनले दिए ।