भोटेकोशी बाढीः बागमती प्रदेशको पयर्टन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति

उनकाअनुसार बाढीका कारण प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना-मझौला होटल र ६५ भन्दा बढी रेस्टुरेण्टमा क्षति पुगेको छ ।

काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । आईतबार विश्व पर्यटन दिवस-२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका सदस्य शहदेव धमलाले यस्तो जानकारी दिएका हुन् । 

उनकाअनुसार बाढीका कारण प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना-मझौला होटल र ६५ भन्दा बढी रेस्टुरेण्टमा क्षति पुगेको छ । उनले बाढमि परी पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नुपरेको बताएका छन् । बाढीमा परी गाइड, पोर्टर तथा सहयोगी भुमिकामा कार्यरत १ सय ८८ जनाभन्दा बढीको मृत्यु भएको उनले जानकारी दिएका छन् । होटलमा कार्यरत २ सय १४ जनाको मृत्यु भएको विवरणसमेत प्राप्त भएको उनले बताएका हुन् । 

धमलाले मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने उल्लेख गर्दै पीडित परिवारको पुनःस्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना ल्याउन आवश्यक रहेको बताएका छन् । उनले विपद्पछिको पुनःस्थापनाका लागि स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि नेपाल पर्यटन बोर्डले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर काम अघि बढाएको पनि उनले जानकारी दिएका छन् । उनले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यसम्पादनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइरहेको समेत जानकारी दिएका हुन् ।