पहिलो फोल्डेबल आईफोन डुओ सार्वजनिक, मूल्य ३ लाख ४ हजारदेखि ४ लाख ८६ हजारसम्म

विज्ञापन
ncell

‘डुओ’ नाम दिइएको नयाँ आइफोन किताबजस्तै गरी बीचबाट मोड्न र खोल्न मिल्ने छ । खोल्दा सानो आइप्याडजस्तो देखिने यो उपकरण मोडेपछि फराकिलो आइफोनको आकारमा देखिन्छ ।

काठमाडौँ । एप्पलले आइफोन सार्वजनिक भएको करिब २० वर्षपछि यसको डिजाइनमा ठूलो परिवर्तन गर्दै पहिलो पटक मोड्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी जोन टर्नसले वार्षिक उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्ड आइफोन सार्वजनिक गरेका हुन् ।

‘डुओ’ नाम दिइएको नयाँ आइफोन किताबजस्तै गरी बीचबाट मोड्न र खोल्न मिल्ने छ । खोल्दा सानो आइप्याडजस्तो देखिने यो उपकरण मोडेपछि फराकिलो आइफोनको आकारमा देखिन्छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै ठूलो आइफोन हो ।

अमेरिकामा यसको प्रारम्भिक मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको छ भने उच्च क्षमताको संस्करणको मूल्य ३ हजार २०० डलरसम्म पुग्नेछ । जुन आजको विनिमयदर अनुसार ३ लाख ४ हजार २२८ नेपाली रुपैयाँ छ भने उच्च संस्करणको नेपाली मुल्य ४ लाख ८६ हजारसम्म रहेको छ । 

टर्नसले नयाँ आइफोनको डिजाइन आइप्याडबाट प्रेरित भएको बताएका छन् । उनले मोड्ने प्रविधिलाई सहज र प्रयोग गर्न सजिलो रहेको दाबी गरेका छन् । एप्पलले बजारमा रहेका अन्य फोल्ड फोनभन्दा फरक अनुभव दिने गरी नयाँ उपकरण तयार गरेको जनाएको छ ।

एप्पलले यो फोल्ड आइफोनमा केही वर्षदेखि काम गर्दै आएको थियो । टर्नस एप्पलको उपकरण विकास विभागमा लामो समय उच्च जिम्मेवारीमा रहेका कारण यसको विकासमा प्रत्यक्ष रूपमा संलग्न थिए । उनी टिम कुकको उत्तराधिकारीका रूपमा हालै एप्पलको प्रमुख कार्यकारी बनेका थिए ।

प्रविधि क्षेत्रका विश्लेषकहरूले टर्नसलाई प्रमुख कार्यकारी बनाउने समय र नयाँ फोल्ड आइफोनको सार्वजनिक समयबीच सम्बन्ध रहेको बताएका छन् । उनीहरूका अनुसार एप्पलका लागि यो पछिल्ला धेरै वर्षयताकै महत्वपूर्ण आइफोन सार्वजनिक कार्यक्रममध्ये एक हो । एप्पलले यससँगै आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स पनि सार्वजनिक गरेको छ । अमेरिकामा यी दुईको प्रारम्भिक मूल्य क्रमशः १ हजार १९९ र १ हजार २९९ अमेरिकी डलर तोकिएको छ ।

तर महँगो मूल्यका कारण फोल्ड आइफोन एप्पलको सीमित प्रयोग हुने महँगो उपकरण बन्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । एप्पलको भिजन प्रो जस्तै यो उत्पादनले पनि अपेक्षित बजार नपाउन सक्ने विश्लेषकहरूको आकलन छ । अर्कोतर्फ, एप्पल वाचजस्तै विस्तारै ठूलो प्रयोगकर्ता समूह बनाउन सक्ने सम्भावना पनि रहेको उनीहरूको भनाइ छ । हाल सामसुङ र हुवावेजस्ता कम्पनीका फोल्ड फोनले विश्वको कुल स्मार्टफोन बिक्रीमा करिब २ प्रतिशत हिस्सा ओगटेका छन् । एप्पलको प्रवेशपछि माग बढे पनि आगामी दशकमा यस्तो फोनको हिस्सा करिब ४ प्रतिशतसम्म मात्र पुग्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच एप्पलले कृत्रिम बौद्धिकतामा आधारित आफ्नो आवाज सहायक सिरीमा पनि ठूलो सुधार गर्ने घोषणा गरेको छ । आइफोन १८ बाट सिरीले फोनभित्र रहेका सन्देश, इमेललगायत जानकारी खोजेर प्रश्नको उत्तर दिनुका साथै प्रयोगकर्ताको तर्फबाट केही कामसमेत गर्न सक्ने भएको छ । नयाँ सिरीका केही सुविधा एप्पल घडीमा समेत उपलब्ध हुनेछन् । प्रयोगकर्ताले अनुमति दिएमा घडीले कुराकानी टिपोट गर्नुका साथै त्यसलाई लेखिएको रूपमा उतार्न सक्नेछ ।

टर्नसले आइफोनमा थपिएका कृत्रिम बौद्धिकता सुविधालाई प्रयोगकर्ताको व्यक्तिगत सूचना केन्द्रका रूपमा व्याख्या गरेका छन् । उनले प्रयोगकर्ताको दैनिक जीवनसँग सम्बन्धित अत्यन्त निजी जानकारी प्रयोग हुने भए पनि ती जानकारी सुरक्षित रहने दाबी गरेका छन् । उनका अनुसार अधिकांश कृत्रिम बौद्धिकता सुविधा उपकरणमै सञ्चालन हुनेछन् । बाह्य प्रणाली आवश्यक पर्ने अवस्थामा समेत जानकारी सुरक्षित रूपमा राखिने र एप्पलले समेत प्रयोगकर्ताको व्यक्तिगत जानकारीमा पहुँच नपाउने उनले बताएका छन् ।