३४ देशका ५९० विदेशी अझै सम्पर्कविहीन, सुरुङ उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ परिचालित

विज्ञापन
ncell

प्रेस ब्रिफिङमा मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले विभिन्न सरकारी निकाय, कूटनीतिक नियोग तथा बेपत्ता व्यक्तिका परिवारसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

काठमाडौं ।  भोटेकोशी बाढीपछि ५९० विदेशी नागरिक अझै बेपत्ता रहेका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार आयोजना गरेको दैनिक प्रेस ब्रिफिङमा ३४ देशका ५९० जना अझै बेपत्ता रहेको जनाइएको छ । उनीहरूको खोजी, पहिचान र उद्धारका लागि नेपालले भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोली तथा अन्तर्राष्ट्रिय फरेन्सिक विशेषज्ञहरूसँग मिलेर अभियानलाई तीव्र बनाएको छ।

प्रेस ब्रिफिङमा मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले विभिन्न सरकारी निकाय, कूटनीतिक नियोग तथा बेपत्ता व्यक्तिका परिवारसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा नेपाली सेनासँग समन्वय गर्दै भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीहरू परिचालित छन् भने भारत, चीन र सिंगापुरबाट आएका फरेन्सिक विशेषज्ञहरूले डीएनए परीक्षण, पहिचान तथा प्रतिवेदन तयारीको कामलाई तीव्र बनाएका छन् ।

सरकारका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट १ हजार २५२ शव फेला परेका छन् भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन् । उद्धार अभियानमार्फत ११ हजार ९९३ जनालाई सुरक्षित स्थानमा सारिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक पनि रहेका छन् । प्रभावित क्षेत्रमा ९ हजार ३०० भन्दा बढी नेपाली सेनाका जवान परिचालित छन्। उनीहरू रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म खोज तथा उद्धार, शव व्यवस्थापन, सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य सहायता कार्यमा संलग्न छन् ।ब्रिफिङमा नेपालले भारत, चीन, अमेरिका, जापान, बेलायत, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, अष्ट्रेलिया, क्यानडा, भुटान, बंगलादेश, पाकिस्तान, युरोपेली संघ, विश्व बैंक, एसियाली विकास बैंक तथा संयुक्त राष्ट्रसंघलगायतबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ ।