रसुवा बाढी अद्यावधिकः मृतकको संख्या १,२५२ पुग्यो, ११ हजार ९९३ जनाको जीवितै उद्धार
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो ।
काठमाडौं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी र त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो ।
प्राधिकरणकाअनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ, जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् । यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
विपद्मा परेका ११ हजार ९९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले मात्रै हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनाको उद्धार गरेको छ । उद्धारका लागि सेनाले ७१५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन् ।
बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । जसमध्ये विभिन्न अस्पतालमा ३०१ जनाको उपचार भइरहेको छ भने नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरहरूमा ३ हजार ९४८ जना आश्रित छन् ।
बाढीका कारण हालसम्म ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना स्थानीय बासिन्दा रहेका छन् । यस्तै, ५८३ विदेशी पर्यटक, जलविद्युत आयोजनाका करिब ९०० कर्मचारी, ४५ सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू समेत बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।
खोज तथा उद्धार कार्यका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् । विपद्का कारण अवरुद्ध भएका सञ्चार सेवाहरू क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावरले काम गर्न थालेका छन् । प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।
सरकारले प्रभावित जिल्ला र स्थानीय तहहरूका लागि तत्काल नगद राहतको घोषणा गरेको छ । रसुवा र नुवाकोटलाई १-१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ । यस्तै, प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
काठमाडौंबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हवाई मार्गबाट समेत राहत सामग्री ढुवानी भइरहेको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्याएको छ ।
प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति र उपचाररतहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जानकारी दिएको छ । -
