राजनीतिक अविश्वास र प्राकृतिक विपत्तिले विथोलिएको सेयर बजार, अब कस्तो होला ?
यस्तो रह्यो अगस्ट महिनाको प्रदर्शन
काठमाडौं । राजनीतिक अन्योल र लगानीकर्ताको कमजोर आत्मविश्वासका बीच प्राकृतिक विपत्ति थपिँदा नेपाली सेयर बजारमाथिको दबाब थप बढेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेको बजारमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् र बिमा लगायतका क्षेत्रमा पार्न सक्ने आर्थिक क्षतिको चिन्ताले लगानीकर्ताको मनोविज्ञान थप कमजोर बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहभागितामा नयाँ सरकार गठन भए पनि लगानीकर्ताले अपेक्षाअनुसार विश्वास कायम गर्न नसक्दा बजारले स्थिर गति लिन सकेको थिएन । त्यसमाथि प्राकृतिक विपत्ति, पूर्वाधारमा क्षति र त्यसले अर्थतन्त्रमा पार्न सक्ने असरले बजारको अनिश्चितता झनै बढाएको देखिन्छ ।
हुन त ऐतिहासिक तथ्यांकले पनि अगस्ट महिना नेपाली सेयर बजारका लागि त्यति अनुकूल नरहेको देखाउँछ । पछिल्लो २९ वर्षको तथ्यांक हेर्दा १६ पटक अगस्ट महिनामा नेप्से घटेको छ भने १३ पटक मात्रै बढेको छ । पछिल्लो एक दशक अर्थात् सन् २०१६ देखि २०२५ सम्मको तथ्यांक हेर्दा अवस्था अझ कमजोर देखिन्छ । सन् २०२० बाहेक अन्य सबै वर्ष अगस्टमा नेप्से घटेको थियो ।
यो वर्ष पनि अगस्टमा बजारले सकारात्मक लय समात्न सकेन । अगस्ट महिनामा नेप्से १३५.०२ अंकले घटेको छ । अगस्टमा कुल २० कारोबार दिन हुने भए पनि आजसम्म १९ कारोबार दिन पूरा भइसकेका छन् । अर्थात् महिनाको अन्तिम कारोबार दिनको प्रदर्शन हेर्न बाँकी छ। १९ कारोबार दिनमध्ये ५ दिन मात्रै नेप्से बढेको छ भने १४ दिन घटेको छ ।
बजार बढेका दिनमा पनि वृद्धि सामान्य अंकमा मात्र सीमित भएको छ। अगस्ट ३ अर्थात् साउन १८ गते महिनाको पहिलो कारोबार दिन नेप्से १.२० अंकले घटेको थियो । त्यसपछि अगस्ट ५ मा ४.७९ अंकले बढे पनि बजारले निरन्तरता पाउन सकेन । अगस्ट ११, १२ र १३ मा क्रमशः ०.७९, ०.५५ र ८.८१ अंकले नेप्से बढेको थियो । त्यसपछि अगस्ट २० अर्थात् भदौ ४ गते नेप्से ७.१७ अंकले बढ्यो । त्यसयता भने बजार निरन्तर ओरालो लागेको छ ।
विशेषगरी अगस्ट २६ अर्थात् भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको दिन नेप्से ३५.९२ अंकले घटेको थियो । यसले प्राकृतिक विपत्तिको मनोवैज्ञानिक असरसमेत बजारमा देखिएको संकेत गर्छ । नेप्सेसँगै कारोबार रकमसमेत दबाबमा रहँदा बजारमा लगानीकर्ताको सक्रियता र जोखिम लिने क्षमता कमजोर बनेको देखिन्छ ।
निर्जीवन बिमा कम्पनीमाथि बाढीको भार थपिने
भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार दुवै जिल्लाका सञ्चालनमा रहेका ९ र निर्माणाधीन ५ गरी कुल १४ जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावित आयोजनाको कुल क्षमता ७५३ मेगावाट रहेको छ । त्यसमध्ये सञ्चालनमा रहेका आयोजनाको क्षमता ३५९ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट छ ।
जलविद्युत् आयोजनाको सञ्चालनमा अवरोध पुग्दा उत्पादन, आम्दानी, मर्मतसम्भार खर्च तथा आयोजना पुनर्निर्माणको लागतमा असर पर्न सक्छ । यसको प्रत्यक्ष प्रभाव सम्बन्धित कम्पनीको वित्तीय अवस्थामा पर्न सक्ने भएकाले सेयर बजारमा लगानीकर्ताको चासो र चिन्ता बढेको छ ।
प्राकृतिक विपत्तिको असर जलविद्युत् कम्पनीमा मात्र सीमित हुने छैन । बाढी तथा पहिरोबाट सवारीसाधन, घर तथा भवन, पुल, उद्योग र जलविद्युत् आयोजनाजस्ता बीमित सम्पत्तिमा क्षति पुगेकाले निर्जीवन बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्ने हुन्छ । यसले विपत्तिपछि निर्जीवन बीमा कम्पनीको दाबी दायित्व बढाउने सम्भावना छ । अघिल्लो आर्थिक वर्षमै निर्जीवन बीमा कम्पनीहरूको नाफा उल्लेख्य रूपमा घटिसकेको अवस्थामा थप ठूलो दाबी सिर्जना भए त्यसले कम्पनीको वित्तीय प्रदर्शनमा थप दबाब पार्न सक्छ ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७२ करोड ९० लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४ अर्ब ४३ करोड ६९ लाख १४ हजार रुपैयाँ थियो । अर्थात् एक वर्षमा खुद नाफा करिब ३८ प्रतिशतले घटेको देखिन्छ । यस्तो अवस्थामा प्राकृतिक विपत्तिबाट थप दाबी सिर्जना भए बीमा कम्पनीहरूको आगामी वित्तीय विवरणमा त्यसको नकारात्मक असर देखिन सक्ने जोखिम छ ।
अब कस्तो होला सेयर बजार ?
पछिल्लो समय निरन्तर दबाबमा रहेको सेयर बजारलाई प्राकृतिक विपत्तिले थप कमजोर बनाउन सक्ने विश्लेषण गरिएको छ । अग्रवाल सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६०) का निर्देशक भुवनेश्वर यादवका अनुसार प्राकृतिक विपत्तिको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने भएकाले त्यसको प्रभाव सेयर बजारमा पनि देखिन्छ ।
उनका अनुसार पछिल्लो बाढीबाट जलविद्युत् क्षेत्रका आयोजनामा ठूलो क्षति पुगेको र प्रभावितमध्ये अधिकांश कम्पनी सेयर बजारमा सूचीकृत रहेकाले त्यसको प्रभाव सम्बन्धित कम्पनीको सेयर मूल्यमा पर्न सक्छ । “देश नै आर्थिक मारमा परेको अवस्थामा त्यसको असर सेयर बजारमा पर्छ,” यादवले भने, “जलविद्युत् कम्पनीका आयोजनामा ठूलो क्षति भएपछि त्यसको असर सम्बन्धित कम्पनीको सेयर मूल्यमा पनि पर्न सक्छ ।”
विपत्तिको असर जलविद्युत् क्षेत्रमा मात्रै सीमित नरहने उनको भनाइ छ । भौतिक सम्पत्तिमा भएको क्षतिले निर्जीवन बीमा कम्पनीको दायित्व बढाउन सक्ने तथा मानवीय क्षति भए जीवन बीमा कम्पनीमाथि समेत दाबीको भार बढ्न सक्ने उनले बताए ।
“नन-लाइफ इन्स्योरेन्समा भौतिक सम्पत्तिमा भएको क्षतिको दायित्व बढ्छ । त्यस्तो सम्पत्ति बीमित छ भने बीमा कम्पनीको दायित्व थपिन्छ,” यादवले भने । उनका अनुसार प्राकृतिक विपत्तिको प्रभाव जलविद्युत् र बीमा क्षेत्र हुँदै समग्र सेयर बजारसम्म पुग्न सक्छ । पहिले नै घट्दो क्रममा रहेको बजारलाई पछिल्लो विपत्तिले थप दबाबमा पार्न सक्ने उनको आकलन छ ।
“सेयर मार्केट पहिलेदेखि नै घटिरहेको थियो, अहिलेको विपत्तिले फेरि त्यसमा असर गर्छ,” उनले भने । यादवका अनुसार तत्कालै बजारले बलियो सुधारको गति समात्नेभन्दा केही समय दबाबमै रहने सम्भावना बढी छ । “बजार दबाबमा रहने बढी सम्भावना छ । सम्भावना मात्रै होइन, दबाबमा रहन्छ नै भने पनि हुन्छ,” उनले थपे ।
यद्यपि, अहिलेको बजार गिरावटलाई केवल बाढीको परिणामका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । राजनीतिक संक्रमण, लगानीकर्ताको कमजोर विश्वास, बजारमा देखिएको लगातारको बिक्री दबाब र कारोबार रकममा आएको कमजोरीजस्ता आन्तरिक कारणले बजार पहिले नै दबाबमा थियो । त्यसमाथि भोटेकोशी बाढीले जलविद्युत् आयोजना, पूर्वाधार र बीमा क्षेत्रमा सिर्जना गर्न सक्ने आर्थिक दायित्व थपिएको छ ।
त्यसैले आगामी दिनमा प्रभावित जलविद्युत् आयोजनाको वास्तविक क्षति, पुनर्निर्माण लागत, विद्युत् उत्पादनमा पर्ने असर, बीमा दाबीको आकार र कम्पनीहरूको वित्तीय विवरणमा देखिने प्रभावले बजारको दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
अब बजारले विपत्तिको आर्थिक प्रभावलाई कति हदसम्म पचाउन सक्छ र लगानीकर्ताको विश्वास कहिले फर्किन्छ भन्ने विषय नै आगामी दिनको मुख्य प्रश्न बनेको छ ।
