बैरेनीमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर भेटियो
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको नौ जनाको टोलीले लकर फेला पारेको हो ।
काठमाडौं । धादिङको गल्छी गाउँपालिका-६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको नौ जनाको टोलीले लकर फेला पारेको हो । बेसबाट करिब ६ किलोमिटर पूर्वमा फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको उपस्थितिमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यसअघि रसुवा बाढीले बगाएर ल्याएको अर्को एक बैंकको भल्ट फोडेर रकम बाँडफाँट गरेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको थियो ।
