बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा कुनै कसर बाँकी राख्दैनौँ: अर्थमन्त्री
उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार तथा राहत वितरणलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी गराए। हराइरहेका व्यक्तिको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि निरन्तर काम भइरहेको उनले बताए ।
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत, उपचार र पुनर्स्थापनाका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार बिहान नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टको निरीक्षण गरी बाढीपछिको उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिएका हुन् । उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार तथा राहत वितरणलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी गराए। हराइरहेका व्यक्तिको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि निरन्तर काम भइरहेको उनले बताए ।
विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई अहिले उच्च प्राथमिकता दिइएको सेनाले जनाएको छ। उद्धारसँगै विस्थापितका लागि अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री वितरणको कामसमेत भइरहेको जानकारी दिइएको थियो ।
बाढीग्रस्त क्षेत्रमा तत्काल बेलिब्रिज आवश्यक रहेको उपरथी थापाले अर्थमन्त्री वाग्लेलाई जानकारी गराएका थिए ।
जवाफमा अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकारले आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने बताए । उनले कुनै पनि किसिमको अभाव भए तत्काल जानकारी गराउन नेपाली सेनालाई आग्रह गरे । त्यसपछि वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन र वितरण केन्द्रको निरीक्षण गरे। त्यहाँ उनले आफ्ना आफन्तको खोजीका लागि पुगेका पीडित परिवारसँग भेट गरी उनीहरूका समस्या सुने ।
नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा परिवारका सदस्य फसेको भन्दै आफन्तहरूले तत्काल उद्धारका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अर्थमन्त्री वाग्लेले सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै नेपाली सेना तथा सुरक्षाकर्मीको उद्धार प्रयासप्रति विश्वास गर्न परिवारजनलाई आग्रह गरे । अर्थमन्त्री वाग्लेले बाढीले ध्वस्त बनाएको ढुङ्गे बजार पुगेर उद्धार कार्यको निरीक्षण गरे । उनले पीडित परिवारसँग भेट गरी क्षतिको अवस्था र तत्काल सरकारले गर्नुपर्ने कामबारे सुझाव लिए ।
त्यसपछि उनी ऐतिहासिक देवीघाट बजार पुगे। बाढीबाट भएको क्षतिको निरीक्षण गर्दै उनले स्थानीयसँग भेट गरी सरकार उनीहरूको साथमा रहेको बताए । हराएका आफन्तको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा समेत आवश्यक सहयोग गर्ने बताए ।
वाग्लेले गल्छी-रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुलको समेत निरीक्षण गरे । त्यसपछि तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाटबाट उद्धार गरिएका स्थानीयसँग भेट गरे । बाढीले बगाउँदै गर्दा उद्धार गरिएका स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उचित उपचार र पुनर्स्थापनाको व्यवस्था गरिने बताए। साथै, उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग भेट गरी आवश्यक स्वास्थ्य सामग्री तथा स्रोतसाधनको अवस्थाबारे जानकारी लिए ।
अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा। बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाबारे छलफल गरेका छन् । जिल्ला समन्वय समितिको हलमा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट आवश्यक स्रोतसाधनको अभाव हुन नदिने स्पष्ट पारे । उनले विपद्को समयमा सबै पक्ष एकजुट भएर प्रतिकार्यमा लाग्न आग्रह गरे ।
‘आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोच्नुस्, जनतालाई विपद्मा कुनै पनि कुराको अभाव हुन नदिनुस्,’ भन्दै उनले आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । दिनभरको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे अन्तिम सुरक्षा ब्रिफिङ लिन वाग्ले नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगेका थिए । त्यहाँ गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री बिक्रम तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीहरूले विपद्पछिको अवस्थाबारे जानकारी गराएका थिए ।
ब्रिफिङअनुसार जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धार अहिले सबैभन्दा उच्च प्राथमिकतामा रहेको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मृतकको शव सङ्कलन, बेपत्ताको खोजी तथा राहत वितरणलाई तीव्र बनाएको छ ।
