त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको उद्धार तीव्र, चिनियाँ विज्ञ टोली पनि आउँदै

विज्ञापन
ncell

चीनबाट सुरुङ निर्माण र उद्धारसम्बन्धी विशेषज्ञहरूको दुई टोली नेपाल आउन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई सरकारले थप तीव्र बनाएको छ । सुरुङभित्र मानिस फसेको जानकारी प्राप्त भएपछि विगत दुई दिनदेखि सुरक्षाकर्मीहरू निरन्तर उद्धार अभियानमा खटिएका छन् ।

शनिबार बिहानदेखि सुरुङको प्रवेशद्वारमा जमेको लेदो र बाढीले थुपारेको भग्नावशेष हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। सुरुङभित्र प्रवेश गर्न सक्ने अवस्था बनाउँदै फसेकाहरूको खोजी गर्ने प्रयास भइरहेको सरकारी स्रोतले जनाएको छ ।

उद्धार अभियानलाई प्रभावकारी बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी ८२ जना सुरक्षाकर्मीको संयुक्त टोली घटनास्थलमा परिचालित छ ।

तर, प्रतिकूल मौसम र सुरुङको प्रवेश क्षेत्रमा थुप्रिएको ठूलो मात्राको लेदो तथा भग्नावशेषका कारण उद्धार कार्य सहज हुन सकेको छैन । चुनौतीका बाबजुद सुरक्षाकर्मीहरूले निरन्तर काम गरिरहेका छन् ।

यसैबीच, उद्धार कार्यमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ आसपासका क्षेत्रको हवाई निरीक्षण गर्ने तयारी गरेको छ । उक्त निरीक्षणबाट प्राप्त अवस्थाका आधारमा थप उद्धार तथा प्राविधिक सहयोग अघि बढाइने बताइएको छ ।

नेपाली सुरक्षा निकाय र भारतीय उद्धार टोलीबीच समन्वय गरी सुरुङभित्र फसेकाहरूको अवस्थाबारे जानकारी लिने र उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

यता, चीनबाट सुरुङ निर्माण र उद्धारसम्बन्धी विशेषज्ञहरूको दुई टोली नेपाल आउन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बाढीबाट प्रभावित जलविद्युत् आयोजना तथा भूमिगत संरचनाको प्राविधिक अवस्था मूल्यांकन गरी आवश्यक सहयोग गर्ने उद्देश्यले चिनियाँ विशेषज्ञ टोली नेपाल आउन लागेको हो । रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा बाढीका कारण जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा पुगेको क्षतिको विवरण संकलनसँगै खोज तथा उद्धार कार्य पनि जारी रहेको छ । बाढीले सडक, पुल र विद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुर्‍याएपछि उद्धार अभियानसँगै अवरुद्ध संरचना सञ्चालनमा ल्याउने कामसमेत समानान्तर रूपमा अघि बढाइएको छ ।