टनेल उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ, ढिलाइ गर्दा मानवीय क्षति हुनसक्छ-पूर्वकार्यकारी प्रमुख भट्ट

विज्ञापन
ncell

उनले अनावश्यक भीडभन्दा पनि सुरुङ उद्धारमा दख्खल राख्ने निश्चित प्राविधिक टोलीलाई मात्रै परिचालन गर्न सुझाव दिए ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् ।

रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । इन्जिनियर भट्टले नेपालमा सुरुङ निर्माणको युग सुरु भएपनि सुरुङभित्र हुने दुर्घटनाको उद्धारका लागि आवश्यक प्राविधिक विज्ञता र क्षमता अझै विकास भइनसकेको बताए । उाकाअनुसार नेपालको आफ्नै स्रोत र साधनले उद्धार सम्भव नभएकाले ढिला नगरी छिमेकी मुलुकहरूसँग सहयोग माग्नुपर्ने अवस्था आएको छ ।

विपद्को शुरुवाती चरणमा सरकारले देखाएको तदारुकता र सुरक्षाकर्मीको परिचालन प्रशंसनीय भएपनि विशिष्ट प्रकृतिको उद्धारमा स्वदेशी क्षमताले नभ्याउने उनको भनाइ छ । विपद्को प्रकृति र आकारअनुसार स्थानीय, प्रदेश, सङ्घ र आवश्यकता परे अन्तर्राष्ट्रिय सहयोग लिने प्रचलन रहेको स्मरण गराउँदै भट्टले अहिलेको घटनामा वैदेशिक विशेषज्ञ टोलीको आवश्यकता खड्किएको उल्लेख गरे ।

उनले अनावश्यक भीडभन्दा पनि सुरुङ उद्धारमा दख्खल राख्ने निश्चित प्राविधिक टोलीलाई मात्रै परिचालन गर्न सुझाव दिए । पूर्वकार्यकारी प्रमुख भट्टले उद्धार कार्यमा कुकटनीतिक र प्राविधिक दुवै तवरबाट छिटो पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।