पोखरामा सडकमा आएको पानीको भलले बगाउँदा आमा–छोरीको मृत्यु

विज्ञापन
ncell

पोखरामा अविरल वर्षासँगै सडकमा आएको पानीको भलले बगाउँदा एक आमा र उनकी दुई वर्षीया छोरीको मृत्यु भएको छ ।

काठमाडौं । पोखरामा अविरल वर्षासँगै सडकमा आएको पानीको भलले बगाउँदा एक आमा र उनकी दुई वर्षीया छोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ स्थित मेयर हर्क चोकमा शुक्रबार दिउँसो भएको घटनामा पोखरा–३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी छोरी रानीका दाहाल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा सुष्माको शुक्रबार राति र छोरी रानीकाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुष्मा श्रीमान् कमल दाहालले चलाएको ग १३ प २८५९ नम्बरको स्कुटरमा छोरीसहित बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिइन् । त्यसक्रममा ठूलो वर्षा भइरहेको अवस्थामा पुरानो विमानस्थल चोकमा स्कुटर रोकेर पैदल हिँड्ने क्रममा सडकमा बगेको पानीको तीव्र भलले उनीहरूलाई बगाएको थियो ।

भलले आमा–छोरीलाई सडक किनारको नालीमा पुर्‍याएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा २१ जनाको प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । स्थानीयवासीको सहयोगमा उनीहरूलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो ।

उपचारका क्रममा सुष्माको शुक्रबार राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको थियो । उनकी दुई वर्षीया छोरी रानीकाको शनिबार बिहान १ बजेर २१ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।