रसुवा बाढी: बैंक तथा वित्तीय संस्थाका २७ कर्मचारी अझै सम्पर्कविहीन
रसुवामा आएको भीषण बाढीपछि जिल्लाका विभिन्न स्थानमा कार्यरत बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा सुरक्षा गार्ड गरी २७ जना अझै सम्पर्कविहीन रहेका छन् ।
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि जिल्लाका विभिन्न स्थानमा कार्यरत बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा सुरक्षा गार्ड गरी २७ जना अझै सम्पर्कविहीन रहेका छन् ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार स्याफ्रुबेसी, मैलुङ, वेत्रावतीलगायत क्षेत्रमा रहेका विभिन्न बैंकका कर्मचारीहरूसँग सम्पर्क स्थापित हुन सकेको छैन । बुधबार साँझसम्म २६ जना कर्मचारी सम्पर्कविहीन रहेकामा केही कर्मचारी सम्पर्कमा आए पनि सुरक्षा गार्डसमेत प्रभावित भएपछि हाल २७ जना सम्पर्कबाहिर रहेका हुन् ।
सम्पर्कविहीन कर्मचारी तथा सुरक्षाकर्मीको अवस्था पत्ता लगाउन नेपाल बैंकर्स संघले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन् ।
सम्बन्धित बैंकहरूले उपलब्ध गराएको विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७, माछापुच्छ्रे बैंकका ५, एनएमबी बैंकका ४, प्रभु बैंकका ४, लक्ष्मी सनराइज बैंकका ४, सानिमा बैंकका २ र हिमालयन बैंकका १ जना सम्पर्कविहीन छन् ।
बाढीको प्रभाव बैंकका कर्मचारीमा मात्र सीमित छैन । रसुवामा आएको बाढीले बैंक तथा वित्तीय संस्थाका करिब एक दर्जन शाखामा समेत ठूलो क्षति पुर्याएको छ। तीमध्ये नौ वाणिज्य बैंकका नौवटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ ।
