नेपाल सिमेन्ट उत्पादक संघले बाढीपीडितका लागि ५१ लाख सहयोग गर्ने

विज्ञापन
ncell

नेपाल सिमेन्ट उत्पादक संघले नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

गत साउन १० गते बुधबार सीमा क्षेत्रमा रहेको हिमताल फुट्दा आएको भीषण बाढीले रसुवाको टिमुरे नाका हुँदै भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। उक्त विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि संघले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

एक प्रेस विज्ञप्ति जारी गर्दै संघले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । संघले बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा सुरक्षित पुनर्स्थापनाको कार्य प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ । ‘विपत्तिको यस घडीमा हामी नेपाल सरकारको साथमा छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

राष्ट्रिय विपत्तिका बेला निजी क्षेत्र टाढा रहन नसक्ने बताउँदै संघले अन्य उद्योगी तथा व्यवसायीलाई पनि आफ्नो सामर्थ्यअनुसार राहत तथा पुनर्स्थापना अभियानमा सहभागी हुन हार्दिक आह्वान गरेको छ । टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा बाढीले पुर्‍याएको ठूलो क्षतिका बीच संघले गरेको सहयोगले राहत तथा पुनर्स्थापनाको कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौंमा प्रधान कार्यालय रहेको नेपाल सिमेन्ट उत्पादक संघले यसअघि पनि विभिन्न राष्ट्रिय संकटका समयमा सरकार तथा नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ ।