कङ्गोमा इबोलाको प्रकोपः अन्तर्राष्ट्रिय समुदायको उदासीनताप्रति राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा फैलिएको इबोला महामारीप्रति अन्तर्राष्ट्रिय समुदायको पर्याप्त ध्यान नगएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । बिहीबार एक विशेष अपील जारी गर्दै उनले यस संकटलाई रोक्न तत्काल विश्वव्यापी कदम चाल्न आग्रह गरे । महासचिव गुटेरेसले यो प्रकोप इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला महामारी भएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्ने प्रयासभन्दा संक्रमणको विस्तार तिब्र रहेको बताए ।
‘हामीलाई इबोला कसरी रोक्ने र संक्रमितको ज्यान कसरी जोगाउने भन्ने थाहा छ, तर यतिबेला हामीले ‘उदासीनताको भाइरस’ लाई पराजित गर्नुपर्ने चुनौती छ ।’ उनले भने । स्थलगत वास्तविकता र अन्तर्राष्ट्रिय राजनीतिक चासो तथा स्रोतसाधनको उपलब्धताबीच अझै ठूलो खाडल रहेको उनको तर्क छ । तथ्याङ्कअनुसार यो प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतिहासमै सबैभन्दा ठूलो इबोला प्रकोप हो । अगस्ट २५ सम्म ५ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन्। हाल प्रतिहप्ता करिव ५ सय नयाँ संक्रमितहरू थपिइरहेका छन् । यो महामारीबाट विशेषगरी महिला र बालबालिकाहरू बढी प्रभावित भएका छन् ।
आर्थिक अभावका कारण इबोला प्रतिकार्यमा थप चुनौती थपिएको महासचिवले जानकारी दिए । राष्ट्रसंघले २.१३ अर्ब अमेरिकी डलरको विस्तृत मानवीय सहायता र प्रतिकार्य योजना अघि सारेको भएपनि हालसम्म ४८ प्रतिशत मात्र रकम संकलन भएको छ । संयुक्त राष्ट्रसंघले आफ्नै कोषबाट ८ करोड अमेरिकी डलरभन्दा बढी परिचालन गरे पनि हाल उपलब्ध स्रोतले केही हप्ता मात्र धान्ने उनले बताए । थप वित्तीय सहयोग प्राप्त नभएमा अत्यावश्यक सेवाहरू बन्द हुनसक्ने चेतावनी समेत उनले दिएका छन् ।
महासचिव गुटेरेसले समय निकै कम रहेको स्मरण गराउँदै विश्व समुदायलाई सामूहिक दृढताका साथ अघि बढ्न आह्वान गरे । उनले भने, ‘विश्वसँग यो प्रकोप रोक्ने ज्ञान र साधन छ। मानवीय क्षति र आर्थिक लागत अझ भयावह हुनुअघि नै कार्य गर्ने यो अन्तिम अवसर हो ।’
