राष्ट्र बैंकले ल्यायो बैंक तथा वित्तीय संस्थाको लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि
अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकि नरहेको र तोकिएको पुँजी कायम गरेको हुनुपर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि , २०८२ जारी गरेको छ। राष्ट्र बैंकले यस अघिको कार्यविधिलाई प्रतिस्थापन गरि नयाँ कार्यविधि जारी गरेको हो । नयाँ कार्यविधि जारी भएसंगै अब बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न र साधारणसभा बोलाउने बाटो खुलेको छ ।
नयाँ कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४७ उपदफा (२) अनुसार विभिन्न अवस्था पुरा गरेमा मात्र नगद लाभांश तथा बोनस सेयर घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिने उल्लेख गरेको छ । जसमा सम्पूर्ण प्रारम्भिक खर्च अपलेखन गरेको हुनुपर्नेछ । अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकि नरहेको र तोकिएको पुँजी कायम गरेको हुनुपर्नेछ । तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको,सम्भावित नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकम छुट्याएको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कोदफा ४४ बमोजिम साधारण जगेडा कोषमा विनियोजन गरेको, र सर्वसाधारणलाई छुट्याइएको सेयर पूर्ण रुपमा बिक्री बितरण गरेको हुनुपर्नेछ ।
