बाढीपीडितका लागि रकम जम्मा गर्दा कारोबार अधिकतम सीमा नलाग्ने
राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्दा अधिकतम कारोबारको सीमा लागू नहुने व्यवस्था गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी प्रभावितको सहयोगका लागि सरकारले संचालनमा ल्याएको खातामा रकम जम्मा गर्दा कारोबारको सीमा नलाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्दा अधिकतम कारोबारको सीमा लागू नहुने व्यवस्था गरेको हो । अरुका हकमा २० लाख रुपैयाँको सीमा छ ।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पैसा जम्मा गर्न चाहनेहरुका लागि ९ वटा बैंकमा खाता खोलेको छ । यस्तै प्रधानमन्त्री राहत कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता संचालन गरिएको छ । नेपाल सरकारले प्राकृतिक विपद्बाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूका लागि विभिन्न बैंक खाता विवरणहरू सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार, 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' र 'प्रधानमन्त्री राहत कोष'मा रकम जम्मा गर्न सकिने गरी विभिन्न वाणिज्य बैंकहरूको खाता नम्बर उपलब्ध गराएको हो ।
