रसुवा बाढी: मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवा जिल्लाको टिमुरे आसपासमा आएको भीषण बाढीपछि मुक्तिनाथ विकास बैंकमा कार्यरत २ जना कर्मचारी अझै सम्पर्कविहीन भएका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै आफ्ना कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको जानकारी दिएको हो ।
बैंकका अनुसार भदौ १० गते बिहान करिब ८ः४० बजे रसुवा जिल्लाको टिमुरे आसपासमा आएको विशाल बाढीका कारण गोसाइँकुण्ड तीर्थयात्रामा गएका बैंकका दुई कर्मचारी सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेमा जय बागेश्वरी शाखामा कार्यरत बिनिता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठ रहेका छन् । उनीहरू भदौ १० गते गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा बेपत्ता भएको बैंकले जनाएको छ। नुवाकोटबाट बिहान करिब ९ः१५ बजेदेखि उनीहरूसँग सम्पर्क हुन नसकेको सूचनामा उल्लेख गरिएको छ।
दुवै कर्मचारीको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा मुक्तिनाथ विकास बैंकलाई जानकारी गराई सहयोग गरिदिन बैंकले अनुरोध गरेको छ। बैंकले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी जुटाउने प्रयास जारी रहेको जनाएको छ ।
