रसुवा बाढीपीडितका लागि गोल्छा ग्रुपको १ करोड ५० लाख सहयोग

विज्ञापन
ncell

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ग्रुपले रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट सार्वजनिक भइरहेका तस्बिर र भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको जनाएको छ । बाढी तथा विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै ग्रुपले अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तिमा आफूहरू साथमा रहेको जनाएको हो ।

गोल्छा ग्रुपका शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्‍याउनु सबैको पहिलो र साझा प्राथमिकता हुनुपर्ने बताएका छन् ।

विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्नेमा ग्रुपले जोड दिएको छ । यसैक्रममा प्रभावित नागरिकलाई आवश्यक मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गर्न लागिएको गोल्छा ग्रुपले जनाएको छ । ग्रुपले बाढीबाट प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ, ऐक्यबद्धता र सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।