चीनले भन्यो- भोटेकोशी बाढीमा परी २६५ बेपत्ता

विज्ञापन
ncell

दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा चीनले नेपाललाई पूर्वचेतावनी नदिएका कारण ठूलो मानवीय क्षति भएको तथा चीनतर्फ रहेको कुनै भौगर्भिक विपद्सँग सम्बन्धित बाँध भत्किँदा नेपालमा ठूलो क्षति पुगेको भन्ने दाबी पूर्णतः भ्रामक र असत्य रहेको जनाएको छ ।

काठमाडौं । बुधबार बिहान नेपालको भूभागमा गएको भीषण पहिरोका कारण चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (जिरोङ) नाकामा ठूलो जनधनको क्षति भएको छ । प्राप्त प्रारम्भिक विवरणअनुसार बुधवार राति ८ बजेसम्म सो घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २६५ जना बेपत्ता भएका छन् । विपद्को संवेदनशीलतालाई मध्यनजर गर्दै सिजाङ प्रशासनले प्राकृतिक विपद् प्रतिकार्यको उच्चतम तहको संकटकालीन उद्धार कार्य (इमर्जेन्सी रेस्पोन्स) सक्रिय बनाएको छ । उद्धारका लागि ७९२ जना दक्ष जनशक्ति र १५२ वटा सवारी साधन परिचालन गरिएको छ ।

त्यस्तै, क्षेत्रीय अग्नि नियन्त्रण तथा उद्धार प्राधिकरणले ७२ वटा सवारी साधनसहित ४३१ जना उद्धारकर्मी, तालिमप्राप्त कुकुर, लाइफ स्क्यानर र स्पिड बोटहरू घटनास्थलमा पठाएको छ । उद्धार कार्यमा चिनियाँ जनमुक्ति सेना र सशस्त्र प्रहरी बल समेत संलग्न रहेका छन् । सिन्ह्वाका अनुसार, ल्हासादेखि केरुङसम्मको सडक खण्डमा उद्धारका सवारी साधनहरूको लस्कर देखिएको छ । प्रभावित क्षेत्रमा हालसम्म ८ हजार थान कटन कोट, २ हजार थान पाल, ३ हजार थान सिरक र ५ हजार थान ओछ्यान (मोइस्चर–प्रुफ म्याट) लगायतका राहत सामग्री पठाइएको अधिकारीहरूले जनाएका छन् । 

पहिरोका कारण नाका जोड्ने सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुनुका साथै सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत प्रशारण लाइन मर्मतका लागि प्राविधिकहरूको पहिलो टोली घटनास्थल पुगिसकेको छ । 

राष्ट्रिय स्तरमा चीनको प्राकृतिक स्रोत मन्त्रालयले भौगर्भिक विपद् सम्बन्धी दोस्रो उच्च तहको (लेभल–२) आपतकालीन प्रतिक्रिया सक्रिय पार्दै उद्धार कार्यको सहजीकरण र थप जोखिम न्यूनीकरणका लागि कार्यदल परिचालन गरेको छ । विपद् न्युनिकरण तथा राहतका लागि गठित राष्ट्रिय आयोग र आपतकालीन व्यवस्थापन मन्त्रालयले ३० हजार थान टेन्ट, चुल्हो, कपडा र बेड लगायतका सामग्री हस्तान्तरण गरेका छन् । 

राहत तथा उद्धार कार्यलाई तीव्रता दिन चीनको वित्त मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले १२ करोड युआन (करिब १ करोड ७६ लाख ९० हजार अमेरिकी डलर) केन्द्रिय प्राकृतिक विपद् राहत कोषबाट विनियोजन गरेका छन् । यसका अतिरिक्त, राष्ट्रिय विकास तथा सुधार आयोगले प्रकोपपछिको पुनर्निर्माणका लागि थप १० करोड युआन बजेट छुट्याएको छ । 

चिनियाँ सरकारी स्वामित्वको इन्जिनियरिङ संस्था ‘चीन आनेङ’ ले २ सय जना विशेषज्ञहरूको टोलीलाई बहुआयामिक ड्रोन, थ्री–डी लेजर स्क्यानर र लाइफ डिटेक्टर जस्ता अत्याधुनिक उपकरणसहित कार्यक्षेत्रमा खटाएको छ । 

स्थानीय मौसम विज्ञान केन्द्रले केरुङ क्षेत्रमा आगामी आइतबारसम्म निरन्तर वर्षा हुने प्रक्षेपण गरेको छ । भारी वर्षाका कारण तल्लो तटीय क्षेत्रमा थप बाढी, पहिरो र अन्य माध्यमिक विपद्को जोखिम बढ्नसक्ने भन्दै शतर्कता अपनाउन चेतावनी दिइएको छ ।