टिमुरेमा रहेका ९ बैंकका शाखा प्रभावित, कर्मचारीसँग सम्पर्क गर्न कठिन
बाढीका कारण बैंकका कार्यालय तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
काठमाडौं । रसुवामा आएको बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएसँगै त्यहाँ सञ्चालित ९ वटा बैंकका शाखा कार्यालयसमेत प्रभावित भएका छन् । बाढीका कारण बैंकका कार्यालय तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार टिमुरेमा रहेका बैंकका शाखामा कार्यरत कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । केही कर्मचारी सम्पर्कमा आउन थाले पनि केहीसँग अझै सम्पर्क हुन सकेको छैन ।
उनका अनुसार टिमुरे बजार नै ठूलो रूपमा क्षतिग्रस्त भएको सूचना प्राप्त भएकाले बैंकका शाखाहरूको अवस्थाबारे यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ । अहिले प्राथमिकता कर्मचारीहरूको अवस्था पत्ता लगाउनु रहेको उनले बताए ।
टिमुरेमा सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, लक्ष्मी सन्राइज बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबी बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकका शाखा रहेको जानकारी प्राप्त भएको छ । बाढीपछि ती बैंकका शाखा कार्यालयको भौतिक क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको संघले जनाएको छ ।
