रसुवाको बाढीको असर नेप्सेमा, हाइड्रोपावर कम्पनीमा भारी गिरावट
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हबअन्तर्गतको २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्रलगायतका संरचनामा क्षति पुगेको छ ।
काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीबाट जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको समाचारसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रसुवा तथा आसपासका क्षेत्रमा आयोजना रहेका जलविद्युत् कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हबअन्तर्गतको २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्रलगायतका संरचनामा क्षति पुगेको छ ।
समाचार तयार पार्दासम्मको कारोबारमा रसुवागढी हाइड्रोपावर सबैभन्दा बढी घट्ने कम्पनी बनेको छ । कम्पनीको सेयर मूल्य १३.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै, चिलिमे हाइड्रोपावरको सेयर मूल्य १०.३३ प्रतिशतले घटेर ४२६ रुपैयाँमा झरेको छ । रसुवामै अवस्थित २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा बाढीबाट क्षति पुगेको समाचार सार्वजनिक भएपछि कम्पनीको सेयरमा बिक्री चाप बढेको देखिएको हो ।
यसैगरी त्रिशूली जलविद्युत्को सेयर मूल्य ९.५५ प्रतिशतले घटेर ४०५.२० रुपैयाँमा आएको छ । साञ्जेन जलविद्युत्को सेयर ९.४६ प्रतिशतले घटेर २३६.४० रुपैयाँ, माथिल्लो मैलुङ खोला जलविद्युत्को ७.७१ प्रतिशतले घटेर ३९१.३० रुपैयाँ तथा मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ७.५८ प्रतिशतले घटेर ३८३ रुपैयाँमा झरेको छ । बाढीको प्रभावसँग सम्बन्धित अन्य जलविद्युत् कम्पनीहरूमा पनि उल्लेख्य गिरावट देखिएको छ । स्याप्रुबेँसी हाइड्रोपावरको सेयर मूल्य ९.४८ प्रतिशत, बराही हाइड्रोपावरको ५.८८ प्रतिशत तथा अन्य केही जलविद्युत् कम्पनीको सेयर मूल्य पनि घटेको छ ।
रसुवामा जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा भएको क्षतिको समाचारले लगानीकर्तामा आयोजना सञ्चालन, उत्पादन तथा भविष्यको आम्दानीबारे चिन्ता बढाएको देखिन्छ । त्यसको प्रभावस्वरूप सम्बन्धित कम्पनीमा बिक्री चाप बढ्दा सेयर मूल्यमा तीव्र गिरावट आएको हुनसक्ने देखिन्छ ।
यद्यपि, बजारमा देखिएको गिरावटलाई पूर्णरूपमा बाढीको प्रभावकै परिणाम भनेर निष्कर्ष निकाल्न भने हतार हुनेछ । सम्बन्धित आयोजनामा भएको वास्तविक क्षति, पुनर्निर्माणमा लाग्ने समय तथा लागत, बीमा दाबी र कम्पनीको वित्तीय प्रभावबारे थप विवरण सार्वजनिक भएपछि मात्र बाढीले कम्पनीको आम्दानी र सेयर मूल्यमा पार्ने वास्तविक असर स्पष्ट हुनेछ ।
