नेपाल बैंकको ‘अटो लोन’ योजना: ४.९४ प्रतिशत ब्याजमै कर्जा, ३ लाखसम्म लाइफटाइम क्रेडिट कार्ड सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको ‘अटो लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले नाडा अटो शोका अवसरमा जुनसुकै ब्रान्डका सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो ।
योजनाअन्तर्गत नेपाल बैंकबाट अटो कर्जा लिई जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्र प्रिमियम थप हुने ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । हाल बैंकको आधार दर ४.४५ प्रतिशत रहेकाले ग्राहकले ४.९४ प्रतिशत ब्याजदरमै अटो कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
बैंकले अटो कर्जाको प्रशासनिक तथा सेवा शुल्कमा समेत सहुलियत दिएको छ । सामान्य शुल्कको सट्टा ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, योजनाअन्तर्गत अटो कर्जा लिने ग्राहकले कुनै अतिरिक्त शुल्क नलाग्ने गरी ३ लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
नाडा अटो शोमा विभिन्न ब्रान्डका सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई वित्तीय सुविधा सहज र आकर्षक बनाउने उद्देश्यले योजना ल्याइएको बैंकको भनाइ छ । बैंकका अनुसार सहुलियतपूर्ण ब्याजदर, कम सेवा शुल्क तथा क्रेडिट कार्ड सुविधाका कारण सवारीसाधन खरिदकर्ताका लागि यो योजना थप लाभदायक हुने अपेक्षा गरिएको छ ।
