अष्ट्रेलियामा आवास संकटः सबै मुख्य शहरमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामै खर्च
सोमबार सार्वजनिक गरिएको एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार देशका सबै राजधानी सहरहरूमा एउटा फ्ल्याट (युनिट) भाडामा लिन औसत राष्ट्रिय आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ ।
एजेन्सी । अष्ट्रेलियाका सबै मुख्य शहरहरूमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामा खर्च हुने गरेको एक प्रतिवेदनले देखाएको छ । सोमबार सार्वजनिक गरिएको एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार देशका सबै राजधानी सहरहरूमा एउटा फ्ल्याट (युनिट) भाडामा लिन औसत राष्ट्रिय आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ ।
प्रतिवेदनकाअनुसार, वार्षिक ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिको आम्दानीको ५६ प्रतिशत हिस्सा राष्ट्रिय औसत घरभाडा तिर्नमै खर्च हुने गरेको छ । त्यसैगरी, वार्षिक ४० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिका लागि आवास खर्च कुल आम्दानीको ८९ प्रतिशत पुग्छ भने वार्षिक १ लाख डलर आम्दानी गर्नेहरूले समेत आफ्नो कमाइको ४१ प्रतिशत हिस्सा भाडामै खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।
अष्ट्रेलियाका आठवटै मुख्य शहरहरूमा औसत कमाइ गर्ने कर्मचारीहरूले एउटा युनिटको औसत भाडा तिर्न आफ्नो आम्दानीको कम्तीमा ५१ प्रतिशत खर्च गर्नुपर्ने देखिएको छ । सिड्नीमा ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिले आफ्नो आम्दानीको ६९ प्रतिशत हिस्सा साप्ताहिक घरभाडामै खर्च गर्नुपर्छ, जुन अन्य सबै सहरहरूको तुलनामा उच्च अनुपात हो ।
अष्ट्रेलियाली तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अगस्ट २०२५ सम्ममा अष्ट्रेलियाली कर्मचारीहरूको औसत वार्षिक तलब ७४ हजार १०० अष्ट्रेलियाली डलर रहेको छ । आवास वकालत समूहकी प्रतिनिधि माई अजिजले सरकारले सार्वजनिक र सामुदायिक आवास निर्माणबाट हात झिकेका कारण देशमा गम्भीर आवास संकट उत्पन्न भएको बताएका छन् । ‘संघीय सरकारले ठूलो मात्रामा सार्वजनिक र सामुदायिक आवासहरू निर्माण गर्न आवश्यक छ । अष्ट्रेलियालाई आगामी १५ वर्षभित्र करिब १० लाख यस्ता घरहरूको आवश्यकता पर्ने देखिन्छ ।’ अजिजले भने ।
