कुमारी बैंकको पीई रेसियो सबैभन्दा कम हुँदा एनआईसी एसियाको बढी, कुनको कति ?
सेयर लगानीकर्ताले केमा ध्यान दिने ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) मा ठूलो अन्तर देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा आधारित उपलब्ध तथ्यांकअनुसार कुमारी बैंकको पीई रेसियो सबैभन्दा कम ७.४५ गुणा रहेको छ भने एनआईसी एसिया बैंकको सबैभन्दा धेरै २६६.९० गुणा रहेको छ ।
उपलब्ध तथ्यांकअनुसार कुमारी बैंकको पीई रेसियो ७.४५ गुणा रहेको छ । त्यसपछि नेपाल बैंकको ८.५४, एनएमबी बैंकको ११.८७, प्राइम कमर्सियल बैंकको १२.२२, सानिमा बैंकको १३.५९, माछापुच्छ्रे बैंकको १४.१८, सिटिजन्स इन्टरनेसनल बैंकको १४.५५ र ग्लोबल आइएमई बैंकको १४.६९ गुणा रहेको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको पीई रेसियो १७.१३, लक्ष्मी सनराइज बैंकको १८.४८, एभरेस्ट बैंकको १८.८१, नबिल बैंकको १८.८६, नेपाल एसबिआई बैंकको २१.७७, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)को २२.३६, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २३.५० र हिमालयन बैंकको २९.६७ गुणा रहेको छ ।
सबैभन्दा फरक अवस्था एनआईसी एसिया बैंकमा देखिन्छ । बैंकको पीई रेसियो २६६.९० गुणा रहेको छ, जुन उपलब्ध १७ बैंकमध्ये दोस्रो उच्च रहेको हिमालयन बैंकको २९.६७ गुणाभन्दा पनि निकै माथि हो ।
यसरी हेर्दा १५ गुणाभन्दा कम पीई रेसियो भएका बैंकको संख्या ८ रहेको छ । ती बैंकमा कुमारी, नेपाल, एनएमबी, प्राइम कमर्सियल, सानिमा, माछापुच्छ्रे, सिटिजन्स इन्टरनेसनल र ग्लोबल आइएमई बैंक रहेका छन् ।
त्यस्तै, १५ देखि २० गुणाबीच पीई रेसियो भएका बैंक ४ वटा छन् । यस समूहमा सिद्धार्थ, लक्ष्मी सनराइज, एभरेस्ट र नबिल बैंक रहेका छन् । एनआईएमबी, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र हिमालयन बैंकको पीई रेसियो २० गुणाभन्दा माथि छ भने एनआईसी एसियाको पीई रेसियो असाधारण रूपमा उच्च देखिएको छ ।
पीई रेसियोले के देखाउँछ ?
पीई रेसियो कम्पनीको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको सम्बन्ध देखाउने सूचक हो । साधारण रूपमा कम्पनीको बजार मूल्यलाई ईपीएसले भाग गर्दा पीई रेसियो प्राप्त हुन्छ ।
उदाहरणका लागि, कुनै बैंकको सेयर मूल्य २०० रुपैयाँ र ईपीएस १० रुपैयाँ छ भने उक्त बैंकको पीई रेसियो २० गुणा हुन्छ । बजार मूल्य बढ्दै जाँदा तर ईपीएस सोही अवस्थामा रहँदा पीई रेसियो बढ्छ । यसको विपरीत बजार मूल्य कम हुँदै जाँदा वा ईपीएस बढ्दा पीई रेसियो घट्न सक्छ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटका अनुसार पीई रेसियो लगानीकर्ताले कम्पनी मूल्यांकन गर्दा हेर्नुपर्ने महत्वपूर्ण उपकरण हो । तर, पीई रेसियोलाई मात्रै आधार बनाएर लगानीको निर्णय गर्न नहुने उनको भनाइ छ ।
“पीई रेसियो मात्रै हेरेर लगानी गर्न हुँदैन । कम्पनीको भविष्यमा राम्रो वृद्धि हुने सम्भावना छ भने त्यो पक्ष पनि हेर्नुपर्छ,” रानाभाटले भने ।
उनका अनुसार बजार मूल्यको तुलनामा ईपीएस बढ्दै गएको कम्पनीको आम्दानी क्षमता सुधार भइरहेको संकेत हुन सक्छ । तर, ईपीएस कमजोर रहेको अवस्थामा बजार मूल्य उच्च भए पीई रेसियो बढ्ने भएकाले लगानीकर्ताले जोखिम पक्षलाई समेत ध्यान दिनुपर्ने हुन्छ ।
रानाभाटले कुनै कम्पनीको पीई रेसियो कम हुँदैमा मात्रै त्यसलाई राम्रो र उच्च हुँदैमा मात्रै खराब भन्न नमिल्ने बताए । कम्पनीको भविष्यको वृद्धि, आम्दानीको सम्भावना र समग्र बजार अवस्थासमेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।
सेयर लगानीकर्ता तथा बजार विश्लेषक डम्मरु वल्लभ घिमिरे पनि पीई रेसियोलाई कम्पनीको अवस्था मूल्यांकन गर्ने महत्वपूर्ण सूचकका रूपमा लिन्छन् । उनका अनुसार कम्पनीको नाफा, बुक भ्यालु, खुद सम्पत्ति र रिजर्भलगायत पक्षसँगै पीई रेसियोलाई हेर्नुपर्छ ।
घिमिरेका अनुसार पीई रेसियो कम्पनीको आम्दानीसँग जोडिएको सूचक भएकाले यसले कम्पनीको वित्तीय मजबुती बुझ्न सहयोग गर्छ । उनले पीई रेसियो अत्यन्तै कम हुनु वा माइनसमा जानु कम्पनीको कमजोर अवस्थाको संकेत हुन सक्ने बताए ।
उनले सामान्यतया ५ भन्दा माथिको पीई रेसियोलाई राम्रो मान्न सकिने धारणा राखेका छन् । ५ भन्दा तलको पीई रेसियोलाई कमजोर र ६, ७, ८ वा १० गुणासम्मको पीई रेसियोलाई तुलनात्मक रूपमा राम्रो मान्न सकिने उनको भनाइ छ ।
तर, पीई रेसियोको ‘कति गुणा राम्रो’ भन्ने निश्चित एउटै मापदण्ड सबै बैंकमा लागू नहुने देखिन्छ । बैंकको नाफा वृद्धि, ईपीएस, बुक भ्यालु, सम्पत्तिको गुणस्तर, लाभांश क्षमता तथा बजार मूल्यसमेत हेरेर मात्र निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।
लगानीकर्ताले के हेर्ने ?
पीई रेसियोले बजारमा कुनै कम्पनीको सेयर मूल्यले उसको आम्दानीलाई कति गुणासम्म मूल्यांकन गरिरहेको छ भन्ने बुझ्न सहयोग गर्छ । त्यसैले कम पीई रेसियोलाई प्रारम्भिक रूपमा आकर्षक मान्न सकिए पनि कम पीई अनिवार्य रूपमा राम्रो सेयर भन्ने हुँदैन ।
लगानीकर्ताले पीई रेसियोसँगै ईपीएसको वृद्धि, बुक भ्यालु, रिटर्न अन इक्विटी ९आरओई०, नाफाको वृद्धि, खराब कर्जा, लाभांश क्षमता, सेयर मूल्य र भविष्यको व्यावसायिक सम्भावनासमेत हेर्नुपर्ने हुन्छ ।
यसर्थ, अहिलेको तथ्यांकमा कुमारी बैंकको पीई रेसियो सबैभन्दा कम र एनआईसी एसियाको सबैभन्दा उच्च देखिए पनि यी दुई बैंकमध्ये कुन लगानीका लागि राम्रो भन्ने निष्कर्ष पीई रेसियोबाट मात्रै निकाल्न नमिल्ने देखिन्छ । पीई रेसियोलाई कम्पनीको समग्र वित्तीय विश्लेषणको एउटा महत्वपूर्ण आधारका रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
