चालकको खाता ‘अटोमेटिक’ बन्द गरेको भन्दै उबरलाई १ खर्ब ४६ अर्ब जरिवाना

विज्ञापन
ncell

युरोपेली डेटा संरक्षण कानुनअनुसार व्यक्तिको रोजगारी तथा जीवनमा महत्वपूर्ण प्रभाव पार्ने निर्णय केवल स्वचालित कम्प्युटर प्रणाली वा एल्गोरिदमबाट गर्न पाइँदैन ।

काठमाडौं । विश्वकै ठूलो राइड सेयरिङ कम्पनी उबरलाई नेदरल्यान्ड्सको डेटा संरक्षण नियामकले करिब १ खर्ब ४६ अर्ब रुपैयाँ जरिवाना गरेको छ । चालकहरूको खाता पर्याप्त जानकारी र मानव समीक्षाबिनै स्वचालित प्रणालीमार्फत बन्द गरेको भन्दै नियामकले उबरमाथि यस्तो कारबाही गरेको हो ।

नेदरल्यान्ड्स डेटा संरक्षण प्राधिकरणका अनुसार सन् २०२० देखि २०२२ को अवधिमा उबरले ठगीको आशंका तथा कम रेटिङलगायतका आधारमा केही चालकहरूको खाता स्वचालित रूपमा बन्द गरेको थियो ।

युरोपेली डेटा संरक्षण कानुनअनुसार व्यक्तिको रोजगारी तथा जीवनमा महत्वपूर्ण प्रभाव पार्ने निर्णय केवल स्वचालित कम्प्युटर प्रणाली वा एल्गोरिदमबाट गर्न पाइँदैन । त्यस्ता निर्णयमा मानवको संलग्नता आवश्यक हुनुका साथै प्रभावित व्यक्तिलाई निर्णयविरुद्ध अपील गर्ने अवसरसमेत दिनुपर्ने व्यवस्था छ ।

नियामकले उबरले चालकहरूको खाता बन्द गर्ने प्रक्रियामा पर्याप्त जानकारी नदिएको र प्रभावकारी मानव समीक्षा तथा पुनरावेदनको अधिकार सुनिश्चित नगरेको जनाएको छ ।

उक्त जरिवाना युरोपेली सामान्य डेटा संरक्षण नियमावली (जीडीपीआर) अन्तर्गत लगाइएको इतिहासकै दोस्रो ठूलो जरिवाना भएको बताइएको छ । यसअघि सन् २०२३ मा फेसबुकको मातृ कम्पनी मेटामाथि १ अर्ब २० करोड युरो जरिवाना गरिएको थियो । तर उबरले भने नियामकको निर्णयलाई ‘अनुपातहीन’ भएको दाबी गरेको छ । कम्पनीले निर्णयविरुद्ध अदालतमा अपील गर्ने जनाएको छ । साथै, मानिसको समीक्षा नगरी कुनै पनि चालकलाई स्थायी रूपमा प्रतिबन्ध नलगाइएको उबरको दाबी छ ।