लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली
पदबहालीका क्रममा कार्यकारी निर्देशक कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै हाल सञ्चालन हुँदै आएका कार्यलाई अझ चुस्त, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीका क्रममा कार्यकारी निर्देशक कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै हाल सञ्चालन हुँदै आएका कार्यलाई अझ चुस्त, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले कोषमा रहेको ठूलो परिमाणको रकम सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।
कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै कोषका गतिविधि र कार्यप्रणालीबारे आफू जानकार रहेको बताए । आगामी दिनमा कोषलाई थप प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
