इरानसँग कुनैपनि समयमा वार्ता सुरु हुनसक्छः अमेरिकी राष्ट्रपति ट्रम्प
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि हर्मुज जलसन्धि प्रभावकारी रूपमा बन्द गरिएको थियो । सोही सन्दर्भमा बोल्दै ट्रम्पले उक्त जलक्षेत्र हाल संयुक्त राज्य अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको जिकिर गरे ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता कुनै समय पुनः सुरु हुनसक्ने संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान परिस्थिति निकै राम्रो रहेको दाबी गरे । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि हर्मुज जलसन्धि प्रभावकारी रूपमा बन्द गरिएको थियो । सोही सन्दर्भमा बोल्दै ट्रम्पले उक्त जलक्षेत्र हाल संयुक्त राज्य अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको जिकिर गरे । राष्ट्रपति ट्रम्पले वासिङ्टनको मुख्य प्राथमिकता इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नु रहेको कुरा पुनः दोहोर्याउएका छन् ।
यद्यपि, वर्तमान अवस्थामा भने दुई देशबीचको संवाद रोकिएको छ । सिएनएनकाअनुसार राष्ट्रपति ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको संवाद स्थगित गर्न निर्देशन दिएका छन् । मङ्गलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले अमेरिका र इरानबीच हाल कुनैपनि वार्ता भइरहेको वा तय भएको जानकारी अस्वीकार गरेका थिए । उनले अमेरिकी नौसेनाको नाकाबन्दी अहिले पनि पूर्ण रूपमा जारी रहेको समेत स्पष्ट पारेका छन् ।
