दीर्घ रावलको छलाङ : नेपाल बैंकको सहायक प्रबन्धकदेखि राष्ट्र बैंकको डेपुटी गभर्नरसम्म
अछाम पुख्र्यौली घर भएका रावल २०६२ माघमा १७ जना सहायक निर्देशकसँगै राष्ट्र बैंक सेवामा प्रवेश गरेका थिए । राष्ट्र बैंक प्रवेश अघि रावलले नेपाल बैंकमा सहायक प्रबन्धकका रुपमा काम गरेका थिए ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।
रावल हाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा कार्यरत थिए । रावलको डेपुटी गभर्नरको कार्यकाल ५ वर्षको हुनेछ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार केन्द्रीय बैंकमा २ जना डेपुटी गभर्नर रहनेव्इवस्था छ । २०८२ फागुनदेखि दुवै डेपुटी गभर्नर पद रिक्त रहेकोमा एक जना (किरण पण्डित) लाई २४ चैत २०८२ मा नियुक्त गरेको थियो । बाँकी एक जना डेपुटी गभर्नर बुधबार नियुक्त भएका हुन् ।
अछाम पुख्र्यौली घर भएका रावल २०६२ माघमा १७ जना सहायक निर्देशकसँगै राष्ट्र बैंक सेवामा प्रवेश गरेका थिए । राष्ट्र बैंक प्रवेश अघि रावलले नेपाल बैंकमा सहायक प्रबन्धकका रुपमा काम गरेका थिए । राष्ट्र बैंकमा रहँदा सन् २०१९ देखि २०२४ सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापन हेर्ने फाइनान्सियल इन्टेलिजेन्स युनिटको नेतृत्व गरेका रावलले राष्ट्रिय समन्वय समितिको सदस्य सचिव भएर काम गरे ।
केन्द्रीय बैंकको सुरुवाती करियरमा रावलले आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा काम गरेका थिए । नीति तथा योजना इकाइको इन्चार्ज र नियमन समितिको सदस्य सचिवको रूपमा काम गरेका रावल राष्ट्र बैंकभित्रको सवै पदोन्नतीमा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट अघि बढेका हुन् क्याडर हुन् । सन् २०१८ मा लोकसेवा आयोगद्वारा लिइएको निर्देशक को प्रतिस्पर्धामा रावलले प्रथम स्थान हासिल गरेका थिए ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा पीएचडी स्कलर रावललेअर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । सामना बैंकिङ पुरस्कार २०१२ बाट पनि सम्मानित रावलले बैंकिङ क्षेत्रका दुई पुस्तकमा सहलेखन गरेका छन् ।
