धितोपत्र बोर्डका अध्यक्ष र आईएमएफ प्रतिनिधिबीच पुँजी बजार सुधारबारे छलफल
भेटका क्रममा पुँजी बजारको दिगो विकास, आवश्यक नीतिगत सुधारका प्रयासहरू तथा धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयमा दुई पक्षबीच गहन विमर्श भएको थियो । अ
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच भेटवार्ता भएको छ । बोर्डको खुमलटारस्थित कार्यालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपालको पुँजी बजारको वर्तमान अवस्था, सुधारका प्रयास, नीतिगत सुधार तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल भएको बोर्डले जनाएको छ । भेटका क्रममा पुँजी बजारको दिगो विकास, आवश्यक नीतिगत सुधारका प्रयासहरू तथा धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयमा दुई पक्षबीच गहन विमर्श भएको थियो । अध्यक्ष डा. भट्टले बोर्डले बजारको आधुनिकीकरण र पारदर्शीताका लागि गरिरहेका पहलहरूबारे जानकारी गराएका थिए ।
आईएमएफका आवासीय प्रतिनिधि गुप्ताले बोर्डले अघि बढाएका पुँजी बजार सुधारका कदमप्रति सकारात्मक धारणा राख्दै सुधार प्रक्रियामा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको वित्तीय क्षेत्रको स्थायित्व तथा विकासका लागि पुँजी बजारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आवश्यकताअनुसार आईएमएफलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट सहयोग र सहजीकरण हुने बताए । भेटमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि तथा नेपालको पुँजी बजारलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक सहयोग उपयोग गर्ने विषयमा समेत छलफल भएको बोर्डले जनाएको छ ।
