सरकार प्रचारबाजीमा मात्रै केन्द्रित हुँदा ग्यासको चरम अभाव भयो: ग्यास बिक्रेता महासंघ

विज्ञापन
ncell

महासंघले दीर्घकालीन समाधान खोज्नुको सट्टा सरकार, नेपाल आयल निगम र वाणिज्य मन्त्रालय प्रचारबाजी तथा दोषारोपणमा केन्द्रित भएको दाबी गरेको हो ।

काठमाडौं । ग्यास बिक्रेता महासंघ, नेपालले मुलुकमा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएको छ । महासंघले दीर्घकालीन समाधान खोज्नुको सट्टा सरकार, नेपाल आयल निगम र वाणिज्य मन्त्रालय प्रचारबाजी तथा दोषारोपणमा केन्द्रित भएको दाबी गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा पछिल्लो चार महिनामा मात्रै करिब ६० हजार मेट्रिक टन एलपी ग्यास कम आयात भएको तथ्यांक सार्वजनिक गरिएको छ । आयातमा आएको ठूलो गिरावट नै बजारमा ग्यास अभाव हुनुको प्रमुख कारण भएको महासंघको दाबी छ ।

महासंघले आपूर्ति घटेको वास्तविकता स्वीकार गरेर समाधान खोज्नुपर्नेमा सरकारी निकायले समस्या लुकाउन खोजेको आरोप लगाएको छ । ‘देशभर ग्यासको चरम अभाव हुँदा पनि सरकार, नेपाल आयल निगम र वाणिज्य मन्त्रालय समस्या समाधानमा लाग्नुको सट्टा प्रचारबाजीमा व्यस्त देखिएका छन्,’ विज्ञप्तिमा भनिएको छ । महासंघका अनुसार अहिले बजारमा करिब ८० लाख सिलिन्डर छरिएर रहेका छन् । ग्यासको आयात र आपूर्ति नबढाई नयाँ सिलिन्डर बिक्री गर्ने होडबाजीले भविष्यमा थप ठूलो संकट निम्त्याउन सक्ने महासंघले चेतावनी दिएको छ ।

महासंघले सिलिन्डरको संख्या बढ्दै जाने तर त्यसअनुसार ग्यासको आयात नबढ्ने अवस्थाले उपभोक्तासँगै बिक्रेतासमेत समस्यामा परेको जनाएको छ । त्यसैले तत्काल नयाँ सिलिन्डरको बिक्री रोक्नुपर्ने उसको माग छ । महासंघले स्थापित वितरण प्रणालीलाई बाइपास गर्दै ग्यास उद्योग तथा विभिन्न अस्थायी बिक्री केन्द्रबाट प्रत्यक्ष ग्यास बिक्री गर्ने सरकारी निर्णयप्रति पनि आपत्ति जनाएको छ ।

महासंघका अनुसार उद्योगबाटै ग्यास वितरण गर्दा आधिकारिक डिलर तथा बिक्रेताको वितरण प्रणाली प्रभावित हुनुका साथै बजार व्यवस्थापन झन् जटिल बनेको छ । अनुगमनका नाममा साना बिक्रेतालाई अनावश्यक दुःख दिने प्रवृत्ति रोक्नसमेत महासंघले माग गरेको छ ।

महासंघले तत्काल ग्यास उद्योग र विभिन्न नाममा खोलिएका अस्थायी बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री बन्द गर्न, आधिकारिक डिलर तथा बिक्रेतामार्फत मात्रै ग्यास वितरणको व्यवस्था मिलाउन माग गरेको छ । त्यस्तै, नयाँ सिलिन्डर बिक्री रोक्न र अनुगमनका नाममा बिक्रेतालाई सास्ती नदिन पनि सरकारसँग आग्रह गरेको छ । महासंघले ग्यास अभावको वास्तविक कारण पहिचान गरी तत्काल समाधान नखोजिए आगामी दिनमा आपूर्ति व्यवस्था अझ भयावह बन्न सक्ने चेतावनी दिएको छ । उसले समस्या समाधानका लागि प्रचारभन्दा पनि ग्यास आयात, आपूर्ति र वितरण प्रणालीमा देखिएका वास्तविक समस्या पहिचान गरी तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।