केयूको उपकुलपतिमा विवेक बराल

विज्ञापन
ncell

बराल केयूबाटै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् । उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो। उनी काठमाडौं विश्वविद्यालयकै मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

बराल केयूबाटै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् । उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।

उनको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ । बराल केयूमा उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन् ।

उनले विश्वविद्यालयमा ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन तथा हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन् ।

केयूको उपकुलपतिका लागि ३५ जनाले आवेदन दिएका थिए। तीमध्ये १० जनाको नाम सर्टलिस्ट गरी सार्वजनिक गरिएको थियो। सर्टलिस्टमा परेकाहरूको प्रस्तुतिकरण र अन्तर्वार्तापछि मेरिटका आधारमा बरालको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।