प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५.५५ प्रतिशत पुग्दा प्रोभिजन ५ अर्ब नजिक

विज्ञापन
ncell

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक विवरणअनुसार बैंकको वित्तीय अवस्था दबाबमा परेको देखिएको छ। बैंक चालु आर्थिक वर्षमा नाफाबाट घाटामा गएको छ । बैंकले असार मसान्तसम्म २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा ऋणात्मक हुनुको मुख्य कारण निष्क्रिय कर्जामा भएको उल्लेख्य वृद्धि र त्यसअनुसार बढेको जोखिम व्यवस्थापन खर्च हो। अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा बढेर १५.५५ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा दोब्बरभन्दा बढी भएपछि बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजन छुट्याएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले करिब २ अर्ब ४० करोड रुपैयाँ प्रोभिजन गरेको थियो। तर गत आर्थिक वर्षमा यो रकम झन्डै ५ अर्ब रुपैयाँ पुगेपछि बैंकको नाफामा ठूलो दबाब परेको हो । चौथो त्रैमासमा मात्रै बैंकले २ अर्ब १७ करोड रुपैयाँ प्रोभिजन थपेको छ । यद्यपि बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा बढेर ९ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

बैंक घाटामा गएसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा १.०२ रुपैयाँ ऋणात्मक भएको छ । बैंकको सञ्चित नोक्सानी पनि उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षसम्म २ अर्ब ५६ करोड रुपैयाँ रहेको सञ्चित नोक्सानी बढेर ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १४०.९२ रुपैयाँ कायम छ ।

यसबीच बैंकको आधार दर र स्प्रेड दरमा भने सुधार देखिएको छ। अघिल्लो वर्ष ६.६७ प्रतिशत रहेको आधार दर घटेर ४.९९ प्रतिशतमा आएको छ। त्यस्तै, स्प्रेड दर ३.७३ प्रतिशतबाट घटेर ३.२८ प्रतिशतमा सीमित भएको छ । कस्ट अफ फन्ड पनि ४.३६ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा आएको छ । बैंकको पुँजी कोष अनुपात भने घटेको छ । अघिल्लो वर्ष १२.५० प्रतिशत रहेको पुँजी कोष ११.८३ प्रतिशतमा झरेको छ भने प्राथमिक पुँजी अनुपात ८.८३ प्रतिशतमा सीमित भएको छ ।

त्यस्तै, बैंकको सीडी रेसियो ७०.७८ प्रतिशतबाट घटेर ६७.८६ प्रतिशतमा आएको छ । यसले बैंकसँग लगानीयोग्य स्रोत पर्याप्त रहे पनि कर्जा प्रवाह अपेक्षाकृत कमजोर रहेको संकेत गर्छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलनमा सामान्य वृद्धि गर्दै कुल निक्षेप ३ खर्ब ४८ अर्ब रुपैयाँ पुर्‍याएको छ। तर कर्जा प्रवाह भने घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

बैंकको बक्यौता ब्याज तथा गैरबैंकिङ सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको छ । वितरणयोग्य नाफा ३ अर्ब ७४ करोड रुपैयाँ रहेको देखिए पनि अघिल्लो वर्षदेखिको सञ्चित घाटा समायोजन गर्दा बैंकको कुल रिटेन्ड अर्निङ ६ अर्ब ३१ करोड रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ ।