प्राइम कमर्सियल बैंकले कमायो ४ अर्ब ११ करोड नाफा, लाभांश क्षमता ९.१ प्रतिशत

विज्ञापन
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा उल्लेख्य बढेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा एक वर्षमा बैंकको नाफा करिब २८ प्रतिशतले बढेको छ । बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा भएको वृद्धि र प्रोभिजन रकम घट्नु मुख्य कारण देखिएको छ । अघिल्लो वर्ष २ अर्ब ७२ करोड ७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज राखेको बैंकले गत वर्ष १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ मात्रै प्रोभिजन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ८ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा बढेर ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ । अघिल्लो वर्ष १६ रुपैयाँ ५० पैसा रहेको प्रतिसेयर आम्दानी गत वर्ष १९ रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ७ पैसा कायम छ ।

यता बैंकको निष्क्रिय कर्जा भने बढेको छ । अघिल्लो आर्थिक वर्ष ५.८१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ६.६९ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढेपछि सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ प्रोभिजन गरेको हो । बैंकको आधार दरमा भने उल्लेख्य सुधार देखिएको छ । ६.४९ प्रतिशत रहेको आधार दर घटेर ४.९५ प्रतिशतमा आएको छ । त्यस्तै, स्प्रेड दर ३.६९ प्रतिशतबाट सामान्य घटेर ३.६६ प्रतिशतमा कायम भएको छ । कस्ट अफ फन्ड पनि ५.२१ प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ ।

बैंकको पुँजी कोष अनुपात ११.३३ प्रतिशतबाट बढेर १२.८७ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजी अनुपात ९.८८ प्रतिशत कायम छ । सीडी रेसियो पनि ८३.९३ प्रतिशतबाट घटेर ८३.३६ प्रतिशतमा आएको छ ।

बैंकको सञ्चित तथा वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ रहेको छ । २० अर्ब ९५ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकले उक्त रकमका आधारमा करिब ९.१ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था देखिन्छ । गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन पनि बढाएको छ । बैंकको कुल निक्षेप २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह बढेर २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।