हिमालयन बैंकको वितरणयोग्य नाफा करिव १० अर्ब ऋणात्मक, इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य बृद्धि

विज्ञापन
ncell

हिमालय बैंकले अघिल्लो वर्षको १२ करोड ९७ लाख ६० हजार रुपैयाँको तुलनामा १०४१.१६ प्रतिशतले खुद नाफा बृद्धि गरेको छ । बैंकको खुद नाफा बढ्नुमा इम्पेयरमेन्ट चार्जको मुख्य हिस्सा छ ।

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष (२०८२/८३) मा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गर्दै हिमालय बैंकले अघिल्लो वर्ष (२०८१/८२) को १२ करोड ९७ लाख ६० हजार रुपैयाँको तुलनामा १०४१.१६ प्रतिशतले खुद नाफा बृद्धि गरेको छ । बैंकको खुद नाफा बढ्नुमा इम्पेयरमेन्ट चार्जको मुख्य हिस्सा छ ।

अघिल्लो वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ रहेकोमा गत वर्ष भने घटाएर २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँमा सीमित गरेको छ । बैंकको यसअवधिमा खुद ब्याज आम्दानी १५.७४ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँमा खुम्चिएको छ ।

कुल सञ्चालन आम्दानी ११.०३ प्रतिशतले घटेर ११ अर्ब १६ करोडमा खुम्चिँदा बैंकको सञ्चालन नाफा पनि २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाखमा सीमित भएको छ ।

बैंकको वितरणयोग्य नाफा भने अझै ठूलो मात्रामा ऋणात्मक छ । २०८३ असारसम्म बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो नाफा ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो । बैंकको प्रतिसेयर आम्दानी ६.५६ रुपैयाँ रहँदा प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ र खराब कर्जा (एनपीएल) ७.९७ प्रतिशत छ ।

चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ हिमालयनको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख रुपैयाँ छ । बैंकले २०८३ असारसम्म ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब २७ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।